
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले संविधान संशोधनका सन्दर्भमा संघीय संरचना, निर्वाचन प्रणाली र प्रतिनिधित्वको स्वरूपमा गम्भीर परिवर्तन आवश्यक रहेको कडा प्रस्ताव अघि सारेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले प्रदेश संरचना, समानुपातिक निर्वाचन प्रणाली र जिल्ला समन्वय समितिको औचित्यमाथि प्रश्न उठाउँदै वर्तमान संरचनालाई पुनः मूल्यांकन गर्नुपर्ने धारणा राखेका हुन् । उनका अनुसार संघीय शासन प्रणालीमा रहेका केही तहहरू अनावश्यक र खर्चिलो बन्दै गएका छन् । जसलाई हटाएर केन्द्र र स्थानीय तहलाई मात्र प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ ।
बास्कोटाले जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने तर्क गर्दै यसले व्यवहारिक रूपमा प्रभावकारी समन्वय गर्न नसकेको संकेत गरेका छन् । उनले संघीयता पुनर्संरचना गर्दा प्रशासनिक सरलता र दक्षता बढाउनेतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।
निर्वाचन प्रणालीका बारेमा उनले प्रतिनिधिसभामा समानुपातिक व्यवस्था हटाएर पूर्ण प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउनुपर्ने प्रस्ताव गरेका छन् । साथै, महिला र पुरुषको प्रतिनिधित्व ६०–४० प्रतिशत अनिवार्य बनाउनुपर्ने उनको सुझाव छ ।
त्यसैगरी राष्ट्रिय सभालाई १०५ सदस्यीय पूर्ण समावेशी बनाउने र उपराष्ट्रपतिलाई नै सभाध्यक्षको जिम्मेवारी दिने व्यवस्था उपयुक्त हुने उनको भनाइ छ ।



















