
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूलाई कारबाही गर्दै उल्लेख्य जरिबाना गरिएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार एकैदिन २ हजार १ सय ५ जना सवारी चालक विभिन्न ट्राफिक नियम उल्लंघनमा परेका छन् । उनीहरूलाई कारबाही स्वरूप २६ लाख ६० हजार रुपैयाँ जरिबाना गरिएको छ ।
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९९ जना, नियमविपरीत राइड सेयरिङ सञ्चालन गर्ने १ सय ९३ जना, ट्राफिक संकेत उल्लंघन गर्ने १ सय ३३ जना र तीव्र गतिमा सवारी चलाउने १ सय ३९ जना चालकलाई कारबाही गरिएको जनाएको छ । त्यस्तै, लेन अनुशासन पालना नगर्ने १ सय ३२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७९ जना, सडक पेटीमा सवारी साधन पार्किङ गर्ने ८७ जना र एकतर्फी सडकमा विपरीत दिशाबाट सवारी चलाउने ७९ जना पनि कारबाहीमा परेका छन् ।
त्यसैगरी अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने एक हजार १ सय ६४ जना चालकलाई समेत जरिबाना गरिएको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि नियमित अनुगमन तथा कारबाही अभियानलाई अझ कडाइका साथ अघि बढाइनेछ । जरिबानाबापतको रकम सरकारी राजस्वमा जम्मा हुन्छ ।



















