
काठमाडौं । संवैधानिक परिषद्को आज (बिहीबार) बस्ने बैठकले नयाँ प्रधान न्यायाधीश सिफारिस गर्ने तयारी गरेको छ । अध्यादेशमार्फत परिषद्को अवरोध हटाइएपछि पहिलोपटक बस्न लागेको बैठकमा कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको नाम सिफारिस हुने लगभग निश्चित मानिएको छ ।
यसअघि न्यायपरिषद्को रोष्टरमा रहेका न्यायाधीशमध्ये जुनियरलाई प्रधान न्यायाधीश बनाउन सकिने चर्चा चलेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वले अदालतको स्थापित प्रचलन, वरिष्ठता र स्वतन्त्र न्यायपालिकाको मान्यतामाथि हस्तक्षेप नगर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सुझाव दिएको स्रोतले जनाएको छ । पार्टी सभापति रवि लामिछानेनिकट स्रोतका अनुसार पछिल्लो समय विभिन्न नियुक्तिलाई लिएर अनावश्यक ‘मिडिया ट्रायल’ गर्ने प्रवृत्ति बढेको छ ।
स्रोतले सशस्त्र प्रहरी महानिरीक्षक नियुक्तिको उदाहरण दिँदै वरिष्ठता मिचिने चर्चा भए पनि सरकारले अन्ततः स्थापित अभ्यासअनुसार निर्णय गरेको दाबी गरेको छ । ‘रास्वपा थिति बिगार्न होइन, बनाउन आएको हो,’ स्रोतको भनाइ छ ।
हाल सपना प्रधान मल्ल सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीशका रूपमा कामु प्रधान न्यायाधीश छन् । उनीपछि वरिष्ठताको क्रममा कुमार रेग्मी, हरि फुयाल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ रहेका छन् । तिलप्रसाद श्रेष्ठ भने उमेर हदका कारण असोजअघि नै अवकाश हुनेछन् ।
रास्वपा नेतृत्वले गम्भीर विवाद वा असाधारण कारणबिना प्रधान न्यायाधीश नियुक्तिको रोलक्रम मिचिँदा स्वतन्त्र न्यायपालिकामाथि नै प्रश्न उठ्ने निष्कर्ष निकालेको स्रोतले जनाएको छ । नेपालमा हालसम्म नागरिकता र शैक्षिक प्रमाणपत्र विवादका कारण संसदीय सुनुवाइबाट दीपकराज जोशी अस्वीकृत भएको बाहेक प्रधान न्यायाधीश सिफारिसमा वरिष्ठताको अभ्यास कायम रहँदै आएको छ ।
जोशी विवादका बेला पनि संवैधानिक परिषद्ले उनलाई वरिष्ठताकै आधारमा सिफारिस गरेको थियो । तर, पछि उनको नाम स्वीकृत हुन सकेन ।



















