श्रम संस्कृतिमा प्रवेश गर्दै सुदनले भने, ‘जनताको आदेश मानेर एकता गरेका हौं’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २५, शुक्रबार १७:४७

काठमाडौं । पूर्वमन्त्री तथा पूर्वमाओवादी नेता सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार काठमाडौंको बागबजारमा आयोजित एक कार्यक्रममार्फत उनी पार्टी प्रवेश गरेका हुन् । उनलाई पार्टीका अध्यक्ष हर्क साम्पाङले स्वागत गरेका थिए ।

यसअघि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग गरेका किराँतीले श्रम संस्कृति पार्टीसँगको एकतालाई जनताको चाहनाअनुसारको राजनीतिक निर्णय भनेका छन् । पार्टी प्रवेशपछि आयोजित कार्यक्रममा बोल्दै उनले यो एकता सामान्य राजनीतिक समीकरण नभई जनताको दबाब र अपेक्षाबाट जन्मिएको दाबी गरे ।

Advertisement

उनले आफूहरू ऐतिहासिक जिम्मेवारीसहित नयाँ यात्रामा अघि बढेको उल्लेख गर्दै जनताको आदेशलाई स्वीकार गरेर एकता गरेको बताए । ‘आँखामा सपना, मनमा वाचा, काँधमा जिम्मेवारी र छातीमा इमानदारिता बोकेर हामी यहाँ आएका छौँ,’ उनले भने, ‘जनताको चाहनाअनुसार हामीले एकता गरेका हौँ । यो जनताको आदेश हो, हामीले त्यसलाई मानेका छौँ ।’

किराँतीले अबको राजनीति सत्ता र पदको मात्रै नभई जनताको जीवनसँग जोडिएको अभियान हुनुपर्ने धारणा राखे । उनले देशको माटो, बाटो र जनताको भविष्यसँग जोडिएको राजनीति गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘यो गाह्रो लगाउने वा घर बनाउने कथा मात्रै होइन,’ उनले भने, ‘तीन करोड नेपालीको भविष्यसँग जोडिएको सम्बन्ध हो । अब हामी यही माटो र बाटोमा जनतासँगै हिँड्नुपर्छ ।’

उनले विगतका राजनीतिक अनुभव र कमजोरीहरूको समीक्षा गर्दै त्यसबाट शिक्षा लिएर आफूहरू नयाँ निष्कर्षमा पुगेको पनि बताए । इतिहासका त्रुटिहरू दोहोरिन नदिन सचेत भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले एकताको वर्तमान अवस्थासम्म आइपुग्न धेरै राजनीतिक समीक्षा र आत्ममूल्यांकन गरेको बताए ।

कार्यक्रममा श्रम संस्कृति पार्टीका नेताहरूले किराँतीको आगमनले पार्टीलाई वैचारिक तथा राजनीतिक रूपमा थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.