
काठमाडौं । नेपाली कांग्रेसले नेपाल महिला संघमा अध्यक्षको जिम्मेवारी मीना खरेललाई दिएको छ । पार्टी सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ४२ (१) (च) बमोजिम खरेललाई अध्यक्षमा नियुक्त गरेका हुन् ।
म्याद सकिएपछि स्वतः विघटन भएको नेपाल महिला संघलाई पुनर्गठन गर्दै तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्ने उद्देश्यसहित उनलाई जिम्मेवारी दिइएको हो । खरेललाई १७ बुँदे कार्यादेश र कार्यविवरण पनि प्रदान गरिएको छ ।
निर्णयअनुसार नवगठित नेतृत्वले २०८३ जेठ १५ गतेभित्र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्नेछ । आवश्यक परे पदाधिकारी तथा विभिन्न उपसमिति गठन गर्न सकिने व्यवस्था पनि गरिएको छ ।
त्यसैगरी, रिक्त रहेका तथा पुनर्गठन आवश्यक भएका तल्लो तहका समितिहरूलाई २०८३ साउन मसान्तभित्र पूर्णता दिई अधिवेशन आयोजक समिति गठन गर्न निर्देशन दिइएको छ । नेपाल महिला संघको केन्द्रीय महाधिवेशन भने २०८३ फागुन १५ गतेभित्र सम्पन्न गर्नुपर्नेछ ।
उक्त जिम्मेवारीका बारेमा कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका हुन् । यस निर्णयसँगै महिला संघलाई संगठनात्मक रूपमा सक्रिय बनाउँदै समयमै महाधिवेशन सम्पन्न गर्ने तयारी अघि बढाइएको छ ।



















