
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (शनिबार)देखि आफ्ना संघीय सांसद तथा जनप्रतिनिधिहरूका लागि दोस्रो चरणको प्रशिक्षण कार्यक्रम सुरु गर्दैछ ।
बजेट अधिवेशनलाई थप प्रभावकारी बनाउन तथा संसदीय अभ्यासलाई सुदृढ गर्ने उद्देश्यसहित प्रशिक्षण आयोजना गरिएको नेताहरुले बताएका छन् । पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार शनिबार र आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रशिक्षण सञ्चालन हुनेछ ।
यसअघि चैत ३ र ४ गते ललितपुरको ग्वार्कोमा आवासीय प्रशिक्षण सम्पन्न गरिएको थियो । जसमा विषय विज्ञ तथा पार्टी शीर्ष नेताहरूले विभिन्न विषयमा मार्गदर्शन गरेका थिए ।
रास्वपाले हालैको निर्वाचनमा उल्लेखनीय सिट हासिल गरे पनि धेरै जनप्रतिनिधिहरू राजनीतिक, संवैधानिक तथा कानुनी प्रक्रियामा पूर्ण रूपमा अभ्यस्त नभएकाले यस्तो प्रशिक्षण आवश्यक रहेको जनाएको छ ।
प्रशिक्षणमार्फत संसदीय बहस, नीति निर्माण र विधायिकी भूमिकालाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । पार्टीले आगामी दिनमा पनि क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।



















