
वीरगञ्ज । बाराको परवानीपुरस्थित राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रममा बर्डफ्लु फैलिँदा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । अनुसन्धानका लागि पालिएका विभिन्न प्रजातिका पन्छी, अण्डा र दाना नष्ट गर्नु परेपछि कार्यक्रम नै प्रभावित बनेको हो ।
कार्यालयका सूचना अधिकारी खमबहादुर प्रजाका अनुसार चैत अन्तिम साता टर्की जातको पन्छीमा पहिलो पटक बर्डफ्लु पुष्टि भएको थियो । त्यसपछि क्रमशः अन्य प्रजातिका पन्छीमा पनि संक्रमण फैलिन थालेपछि सम्पूर्ण फार्म खाली गर्नुपरेको उनले बताए ।
संक्रमणपछि करिब दुई हजार कुखुराका चल्ला, करिब १२ सय गिरीराजसहित अन्य कुखुरा, ३३ वटा तित्रा, ४७ वटा सेतो–कालो टर्की र करिब ४५० बट्टाई नष्ट गरिएको छ । साथै, सयौँ किलो दाना पनि नष्ट गरिएको कार्यालयले जनाएको छ ।
फार्म क्षेत्रमा अहिले निर्मलीकरणको काम भइरहेको छ । चुना छर्ने, मल व्यवस्थापन गर्ने र आगोको ताप प्रयोग गरेर संक्रमण नियन्त्रण गर्ने काम जारी रहेको कार्यालयले जनाएको छ ।
कार्यालयले अब पोखरा र नेपालगञ्जस्थित अन्य अनुसन्धान केन्द्रबाट पन्छी तथा अण्डा ल्याएर कार्यक्रम पुनः सञ्चालन गर्ने तयारी थालेको छ ।



















