हत्याका दोषी बेलबारीका कमलप्रसाद : २२ वर्षसम्म लुके, एकपटक उम्किए

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २९, मंगलबार १०:२८

विराटनगर । मोरङको बेलबारीमा दुई दशकभन्दा लामो समयदेखि फरार रहँदै आएका हत्याका दोषी अन्ततः प्रहरीको फन्दामा परेका छन् । बेलबारी नगरपालिका–६ का ५५ वर्षीय कमलप्रसाद दाहाल पक्राउ परेका हुन् ।

तर, यो पक्राउ सामान्य भने होइन । किनभने पक्राउ परेपछि पनि उनी प्रहरीलाई झुक्याएर एकपटक उम्किन सफल भइसकेका थिए । झुटो परिचय र कागजातको सहारामा कानुनी दायराबाट फुत्किएका उनी फेरि पुनः निगरानीमा आएपछि यसपटक भने कारागारसम्म पुगेका छन् । दुई दशक लामो दाहालको फरार यात्रा अन्ततः टुंगिएको छ ।

Advertisement

दाहाललाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले आफ्नै घरबाट पक्राउ गरेको हो । २२ वर्षभन्दा लामो समयदेखि फरार सूचीमा रहेका दाहाललाई पक्राउ गर्नु सामान्य सफलताको विषय मात्रै नभएर प्रहरीका लागि चुनौतीपूर्ण अनुसन्धानको परिणामका रूपमा हेरिएको छ।

घटनाको पृष्ठभूमि २०६० सालतिरको हो । काशीराम खवासले दिएको किटानी जाहेरीका आधारमा दाहालसहित पाँच जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । अदालतले २०६१ साल जेठ १० गते दाहाललाई दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, फैसला गरेर अदालतले दोषी ठहर गरे पनि उनी कानुनी प्रक्रियाबाट टाढिँदै फरार भएका थिए ।

त्यसयता दाहालको खोजी कागजमा मात्र सीमित रह्यो । प्रहरी अभिलेखमा फरार प्रतिवादीका रूपमा रहिरहे पनि वास्तविक रूपमा भने उनी आफ्नै घरमा सामान्य जीवन बिताइरहेका थिए भन्ने कुरा पछिल्लो अनुसन्धानले देखाएको छ । प्रहरी स्रोतका अनुसार उनले वर्षौँसम्म आफ्नो परिचय लुकाउँदै सामान्य नागरिकजस्तै जीवनयापन गर्दै आएका थिए ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार दाहाललाई पक्राउ गर्नु पछाडिको प्रक्रिया सजिलो थिएन । प्रारम्भिक चरणमा उनी पक्राउ परे पनि झुटो विवरण पेस गरेर तत्कालै छुट्न सफल भएका थिए । प्रहरीलाई बुझाइएको ठेगाना, बाबुको नाम र व्यक्तिगत विवरण नै फरक पाइएको थियो । यही आधारमा अनुसन्धानमा अन्योल सिर्जना भएको थियो । उनी त्यसबेला उन्मुक्ति पाएर बाहिरिएका थिए ।

२०८१ सालमा उनलाई पहिलो पटक प्रहरीले पक्राउ गरेको थियो । तर, त्यतिबेला दाहालले आफ्नो परिचय नै फरक देखाएर प्रहरीलाई भ्रमित गरेका थिए । आवश्यक प्रमाणको अभाव र विवरणमा देखिएको असमानताका कारण प्रहरी उनलाई रिहा गर्न बाध्य भएको स्रोत बताउँछ । त्यसपछि उनी फेरि आफ्नो पुरानै जीवनशैलीमा फर्किएर घरमै आनन्दले बस्दै आएका थिए ।

तर, प्रहरीले यसपटक भने उनको गतिविधि र विगतको मुद्दामाथि गहिरो अनुसन्धान गर्यो । लामो अनुसन्धान, सूचनाको संकलन र प्रमाणको पुनः विश्लेषणपछि अन्ततः प्रहरी उनको वास्तविक पहिचान पुष्टि गर्न सफल भयो । त्यसपछि इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो ।

एसपी कटवालका अनुसार यसपटक प्रहरीले कुनै कमजोरी नदोहोर्याउने गरी प्रमाण संकलन गरेको थियो । ‘यसअघि उनी झुटो विवरण पेस गरेर उम्किएका थिए । तर, यसपटक सबै पक्षबाट पुष्टि भएपछि मात्र पक्राउ गरिएको हो,’ उनले भने । कटवालका अनुसार यो पक्राउले अपराध गरेर लुकेर बस्नेहरूलाई कानुनले अन्ततः नछाड्ने सन्देश दिएको छ ।

प्रहरीले पक्राउ गरेर दाहाललाई वैशाख २५ गते अदालतमा पेस गरेको थियो । जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार प्रहरीले बुझाएपछि दाहाललाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ । अदालतको फैसलाअनुसार अब दाहालले कैद सजाय भुक्तानका लागि २०८८ साल वैशाख २३ गतेसम्म कारागारमा बस्नुपर्ने छ ।

दाहालले अदालतमा पनि आफू उक्त हत्यामा संलग्न नभएको दाबी गरेका थिए । तर, पहिले नै भएको फैसलाले उनलाई दोषी ठहर गरिसकेको हुँदा उनका दाबीले कानुनी प्रक्रियामा कुनै असर पार्न नसकेको सूचना अधिकारी बुढाथोकीले बताए ।

प्रहरीका अनुसार यस मुद्दामा अझै अन्य चार जना प्रतिवादी फरार छन् । उनीहरूको खोजी जारी छ । लामो समयपछि ५ जनामध्ये एक जना मात्रै दोषी पक्राउ परेका छन् ।

दाहालको पक्राउले मोरङमा पुरानो हत्याकाण्ड फेरि चर्चामा आएको छ । दुई दशकभन्दा लामो समयसम्म कानुनी दायराबाट बाहिर रहन सफल भए पनि अन्ततः उनी कारागारसम्म पुग्नुले अपराध लुकाएर बस्ने प्रयास दीर्घकालीन रूपमा सफल नहुने कुरा पुष्टि भएको छ ।

‘कागज र पहिचान बदलेर अपराधबाट उम्किने प्रयास जतिसुकै लामो समयसम्म सफल देखिए पनि अन्ततः कानुनको दायरामा आउनै पर्छ,’ एसपी कटवालले भने ।

तपाइको प्रतिक्रिया
विराटनगरमा देउवा–सिटौला समूहको भेला : केदार कार्की गए, सभापति थापा देखिएनन्
अर्घाखाँची बस दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, सनाखत हुन बाँकी
रास्वपामाथि बादलको प्रहार : ‘अध्यादेशमार्फत न्यायतन्त्रमा कब्जा गर्ने दाउ’
संकटमा सेलाइन उद्योग : उत्पादन ठप्प हुने खतरा, अभावको जोखिम
सेनाद्वारा च्याम्ताङ-घोङ्गप्पा सडक हस्तान्तरण, उत्तर-दक्षिण व्यापारमा सहज हुने
विकल्पविहीन उठिबासको विरोधमा भूमिहीन काठमाडौंमा, रास्वपालाई बुझाए १२ बुँदे माग
५८ सांसदले बुझाए सम्पत्ति विवरण, जेठ १० भित्र बुझाउनुपर्ने
अनलाइन सञ्चारमाध्यम नियमन गर्न सरकारलाई आयोगको निर्देशन
मोरङ र सुनसरीमा ‘बाइक चोर्ने बालबालिकाको नेटवर्क’, ४ जना पक्राउ
अर्घाखाँचीमा बस दुर्घटना : २४ जना घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.