
विराटनगर । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आज मंगलबारदेखि प्रदेशस्तरीय भेला सुरु गरेको छ। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा कार्यक्रम गरिरहेकै बेला देउवा समूहले पनि आफ्नो आन्तरिक रणनीति तय गर्न छुट्टै भेला आयोजना गरेको हो।
यस अभियान अन्तर्गत देउवा समूहले आज कोशी प्रदेशको राजधानी विराटनगरस्थित बिग होटलमा बिहान ११ बजेदेखि भेला सुरु गरेको छ। विचार समूहमा रहेका नेताहरूलाई एकताबद्ध राख्दै आन्तरिक छलफललाई प्रभावकारी बनाउन यो भेला आयोजना गरिएको नेता मीन विश्वकर्माले बताए।
पार्टी संगठन सुदृढ बनाउने, १५औँ महाधिवेशनको तयारी अघि बढाउने र पार्टीमा निराश बनेका कार्यकर्तालाई पुनः सक्रिय बनाउने भेलाको मुख्य उद्देश्य रहेको छ। यसका साथै वर्तमान राजनीतिक अवस्था र मुलुकको दिशाबारे साझा बुझाइ बनाएर आगामी कार्यदिशा तय गर्ने विषयमा पनि छलफल हुने बताइएको छ।
कोशी प्रदेशपछि देउवा समूहले भोलि बुधबार काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा दिउँसो १ बजे बागमती प्रदेशस्तरीय भेला गर्ने तय गरेको छ। पार्टीलाई एकताबद्ध बनाउन र बृहत् छलफलका लागि यो भेला आयोजना गरिएको देउवा पक्षीय नेताहरूको भनाइ छ।
प्रदेशस्तरीय भेलालाई व्यवस्थित बनाउन विभिन्न नेताहरूलाई समन्वयको जिम्मेवारी समेत तोकिएको छ। कोशीमा कृष्णप्रसाद सिटौला, मधेशमा आनन्दप्रसाद ढुङ्गाना, बागमतीमा प्रकाशमान सिंह र डा. प्रकाशशरण महत तथा गण्डकीमा मेखलाल श्रेष्ठले समन्वय गरिरहेका छन्।
त्यस्तै, लुम्बिनीमा किशोरसिंह राठौर, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउदलाई जिम्मेवारी दिइएको छ। यसअघि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा वैशाख १५ गते दुईदिने भेला आयोजना गरिएको थियो। जसमा केन्द्रीय कार्यसमितिका निवर्तमान पदाधिकारी, सदस्य, प्रदेश तथा जिल्ला सभापति लगायत भ्रातृ संस्थाका प्रमुखहरूको सहभागिता थियो।

























