पार्टी एकताका नाममा विराटनगरमा कांग्रेसको गुट भेला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २९, मंगलबार १८:३८

विराटनगर । नेपाली कांग्रेसभित्रको आन्तरिक एकतालाई मजबुत बनाउन भन्दै कांग्रेसको इतर समूहले विराटनगरमा कोशी प्रदेशस्तरीय भेला आयोजना गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र मीन विश्वकर्माको अगुवाइमा भएको भेलामा सिटौला, शेरबहादुर देउवा समूहका नेताहरु भेला भएका थिए ।

यो समूहले पार्टीलाई एकताबद्ध बनाउन देशभरका कार्यकर्ताबाट सुझाव संकलन गर्ने अभियानअन्तर्गत विराटनगरमा कार्यक्रम गरेको जनाएको छ । भेलामा डाक्टर शेखर कोइराला समूहका नेता एवं पूर्वमुख्यमन्त्री केदार कार्की पनि सहभागी थिए ।

Advertisement

भेलालाई सम्बोधन गर्दै पूर्वमहामन्त्री सिटौलाले पार्टीमा देखिएको अन्योल चिर्न जेठ १० गतेभित्र प्रदेशमा भेला आयोजना गरिसक्न आग्रह गरे । ‘के गर्ने हो जेठ १० गतेभित्र गरिसकौं, त्योभन्दा ढिलो भए समय घर्कन सक्छ,’ सिटौलाले भने ।

उनले थोरै संख्यामा भए पनि छलफल र सुझाव संकलनलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।

पार्टीभित्र विशेष महाधिवेशन वा नियमित महाधिवेशन भन्ने विवादले संगठनलाई कमजोर बनाइरहेको भन्दै चिन्ता व्यक्त गरे । ‘पार्टीभित्र एकता नभए लोकतन्त्र र देशमाथि आइलाग्ने चुनौतीहरूको सामना गर्न कांग्रेसलाई कठिन हुन्छ,’ उनले भने,‘ त्यसैले खलबलिएको एकतालाई पुनःस्थापित गर्न ढिलाइ गर्नु हुँदैन ।’

केन्द्रमा बस्ने नेताहरूले मात्रै सबै कुराको निर्णय गर्ने परिपाटीभन्दा देशभरका आम कार्यकर्ताको भावना बुझ्न आफूहरूले यो प्रदेशस्तरीय छलफल चलाएको नेता सिटौलाको दाबी छ । भेलामा सहभागी नेताहरूले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी एक ढिक्का भएर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.