प्रधानमन्त्रीको अनुपस्थितिमा संसद अवरुद्ध हुने चेतावनी, कानुनी बाध्यता नरहेको सत्तापक्षको दाबी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार १३:३७

काठमाडौं । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने कि नपर्ने भन्ने विषयलाई लिएर सत्ता र प्रतिपक्षबीच तीव्र विवाद चुलिएको छ ।

विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रश्नहरूको जवाफ नदिए संसद बैठक बहिस्कार गर्ने चेतावनी दिएको छ । सत्तापक्षले भने प्रधानमन्त्री स्वयं उपस्थित हुनैपर्ने कानुनी बाध्यता नरहेको जिकिर गरेको छ ।

Advertisement

प्रतिनिधिसभाको बुधबारको बैठकमा विपक्षी दलका तर्फबाट बोल्दै सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीको व्यवहारले संसदीय परम्परा र मर्यादामाथि प्रश्न उठेको बताएका छन् । उनले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने समयमा प्रधानमन्त्री अनुपस्थित हुनु गम्भीर विषय भएको उल्लेख गर्दै यस्तो अवस्थामा बैठकमा सहभागी नहुने चेतावनी दिएका हुन् ।

केसीले प्रधानमन्त्रीले निरन्तर रूपमा संसदीय अभ्यास, परम्परा र मूल्य मान्यतालाई बेवास्ता गरेको आरोप लगाए । उनले प्रधानमन्त्रीको अनुपस्थितिमा सरकारका तर्फबाट तोकिएको मन्त्रीले जवाफ दिनु सामान्य अभ्यास भए पनि नीति तथा कार्यक्रमजस्तो महत्वपूर्ण विषयमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने परम्परा रहेको दाबी गरे । उनले संसदलाई उपेक्षा गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई गम्भीर रूपमा लिने चेतावनीसमेत दिए ।

उनले भने, ‘प्रधानमन्त्रीबाट एकपछि अर्को गरेर संसदीय परम्परा, मान्यता र मूल्य पद्धतिमाथि उपेक्षा भएको भन्ने आम रूपमा प्रश्न उठेको छ । प्रधानमन्त्री अनुपस्थित हुँदा पनि प्रधानमन्त्रीले तोकेको मन्त्रीमार्फत काम चलाउने परम्परा भए पनि यहाँ संसदको मर्यादा नै कमजोर बनाइएको छ ।’

संसद बैठक चलिरहेका बेला प्रतिपक्षी कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति लगायत दलका सांसदले उठेर विरोध जनाएका छन् । उनीहरुले प्रधानमन्त्रीको आवाज सुन्न नपाइने संसदमा कसरी सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुन्छ ? भनी प्रश्न उठाएका थिए ।

कांग्रेस सचेतक निश्कल राई, एमालेका ऐन महर, राप्रपाका ज्ञानेन्द्र शाही लगायतले प्रधानमन्त्री अनुपस्थित रहेको विषयमा आपत्ति जनाए । उनीहरूले प्रधानमन्त्री टेबुल गर्नकै लागि बैठकमा आउनुपर्ने बताए । श्रम संस्कृतिका हर्क साम्पाङ त प्रधानमन्त्रीले अति नै गरेको भन्दै उठेर बैठकबाट बाहिरिए नै ।

विवादकै बीचमा सभामुख डोलप्रसाद अर्यालले प्रमुख प्रतिपक्षी दलका नेतालाई बोल्ने समय दिए, नाम लिएनन् । एकसाथ कांग्रेसका संसदीय दल नेता भीष्मराज आङ्देम्बे र सांसद अर्जुननरसिंह केसी उठे । अर्जुनले माइक समाएर बोल्न थाल्दा भीष्म एकैछिन उभिइरहेका थिए ।

यसैबीच, सत्तापक्षले भने प्रधानमन्त्रीको अनिवार्य उपस्थितिलाई लिएर उठाइएको प्रश्नको खण्डन गरेको छ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्री उपस्थित हुन नसकेमा सम्बन्धित मन्त्रीलाई जिम्मेवारी तोक्न सकिने व्यवस्था रहेको स्पष्ट पारेका छन् ।

उनका अनुसार नियमावलीको धारा ३८ को उपधारा ३ ले प्रधानमन्त्री अनुपस्थित हुँदा सरकारका तर्फबाट अन्य मन्त्रीले प्रतिनिधित्व गर्न सक्ने व्यवस्था गरेको छ । उनले प्रधानमन्त्रीले अर्थमन्त्रीलाई आफ्नो तर्फबाट प्रतिनिधि तोकेको जानकारी आफूलाई प्राप्त भएको पनि बताए ।

बुर्लाकोटीले संसदको कामकारबाहीलाई अवरोध गर्नुको साटो नियमअनुसार अघि बढ्नुपर्नेमा जोड दिँदै विपक्षीको अडान राजनीतिक रूपमा मात्र नभई प्रक्रियागत रूपमा पनि गलत व्याख्यामा आधारित रहेको संकेत गरे । यसैबीच, विपक्षीको कडा अडान र सत्तापक्षको कानुनी व्याख्याबीच प्रतिनिधिसभामा तनावपूर्ण अवस्था सिर्जना भएको छ ।

विपक्षी दलहरूले प्रधानमन्त्रीले जवाफ नदिए संसद बहिस्कार गर्ने चेतावनी पुनः दोहोर्याएका छन् भने सत्तापक्षले संसदको कामकाज रोक्नुपर्ने कुनै औचित्य नरहेको दाबी गर्दै बैठक अघि बढाउन आग्रह गरेको छ । नीति तथा कार्यक्रमजस्तो महत्वपूर्ण विषयमा प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थितिलाई लिएर देखिएको विवादले आगामी दिनमा संसदको कार्यसूची नै प्रभावित हुने सम्भावना बढेको छ ।

तपाइको प्रतिक्रिया
सेयर बजार परिसूचक नेप्सेमा ४.१५ अंकको गिरावट, कारोबार रकममा भारी कमी
आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले दिए राजीनामा
सांसद पराजुलीको अभिव्यक्तिप्रति नेपाल बारको आपत्ति, सभामुखलाई पत्र
प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त
चाउचाउको र्‍यापरमा तिरिएको अन्तःशुल्क कट्टी गर्न पाउने सर्वोच्चको फैसला
प्रधानमन्त्री नहुँदा पनि सदन चल्ने सभामुखको दाबी, सांसद बरालले देखाए खाली पाना
प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रुलिङ गर्ने अधिकार आफूसँग छैन : सभामुख अर्याल
राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रम पेस, छलफल सुरु
विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित
थापाका शब्द हटाएको विषयमा एमालेद्वारा स्पष्टीकरण माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.