प्रधानमन्त्री मातहतमा फेरी राष्ट्रिय अनुसन्धान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २, शनिबार ०७:०८
प्रधानमन्त्री मातहतमा फेरी राष्ट्रिय अनुसन्धान

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा फेरी राष्ट्रिय अनुसन्धान विभागलाई ल्याइएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले गृह मन्त्रालयअन्तर्गत रहेको विभागलाई पुनः आफ्नो मातहतमा ल्याएका हुन् ।

नेपाल सरकार कार्य विभाजन नियमावली–२०८३ मार्फत गृह मन्त्रालयअन्तर्गत रहेको यो विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत लगिएको हो । यो विभागले मुलुकको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा संवेदनशील सूचना संकलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।

Advertisement

यसअघि २०७४ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विभागलाई गृह मातहतबाट अलग गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राखेका थिए । जेनजी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री भएपछि विभागलाई गृह मन्त्रालय मातहत ल्याइएको थियो । अहिले विभागलाई पुनः प्रधानमन्त्रीको कार्यालय मातहत राखिएको हो । यसबाट शाह पनि ओली पथमा लागेको देखिन्छ ।

प्रधानमन्त्री शाहले आफ्नो कार्यकारी नियन्त्रण बलियो बनाउने उद्देश्यसहित विभागलाई पुनः प्रधानमन्त्री कार्यालय मातहत राखेका हुन् । यो विभागलाई राजनीतिक नेतृत्वले पटक–पटक आफ्नो अनुकूल प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ ।

लामो समयसम्म गृह मातहत रहेको यो विभागलाई ओलीका पालामा प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्दा आधुनिक, दक्ष र प्रभावकारी गुप्तचर निकाय बनाउने भनी गरिएको घोषणा कागजमै सीमित छ । विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा राखिएपछि उसले सूचनाहरू सिधै प्रधानमन्त्रीलाई दिनुपर्ने हुन्छ । गोप्य रूपमा सूचना संकलन गर्ने हुनाले यो विभागलाई गुप्तचर भनेर पनि चिनिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.