
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १४ औं महाधिवेशनबाट निर्वाचित भएर पनि पार्टी संरचनाबाहिर रहेका नेताहरूसँग मिलेर काम गर्न आफू तयार रहेको बताएका छन् ।
काठमाडौंमा आइतबार आयोजित एउटा कार्यक्रममा बोल्दै उनले विशेष महाधिवेशनमा छुटेका नेताहरूलाई केन्द्रीय समिति तथा अन्य समितिमा सम्मानजनक जिम्मेवारीसहित समेट्ने प्रस्ताव अघि सारेका हुन् । थापाले वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता बनाउने र आवश्यक जिम्मेवारी दिएर सबैलाई सँगै लिएर अघि बढ्न चाहेको बताए ।
उनले निर्वाचन समिति, सदस्यता छानबिन समिति र अनुशासन समितिमा समेत इतर पक्षका नेताहरूलाई समावेश गरेर १५ औं महाधिवेशनलाई पारदर्शी बनाउन चाहेको उल्लेख गरे । विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा पार्टीभित्र विभेद नगर्ने प्रतिबद्धता जनाउँदै थापाले आफ्ना प्रस्तावहरू इतर पक्षका नेतासमक्ष राखिसकेको जानकारी दिए ।



















