
काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा एक सांसदसँग जोडिएको भनिएको विवादित घटनालाई लिएर तीव्र राजनीतिक बहस भएको छ ।
मोरङको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीले नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको आरोप सार्वजनिक भएपछि संसदभित्रै प्रश्न उठाइएको हो । बैठकमा नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्ण र नेकपाकी सांसद पार्वती विकले उक्त विषयलाई गम्भीर ढंगले उठाउँदै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । उनीहरूले सामाजिक सञ्जालमा फैलिएको उक्त दाबी सत्य हो वा होइन भन्ने विषय संसदमै स्पष्ट गर्न माग गरेका छन् ।
सांसद कार्कीले एक नाइजेरियन महिलालाई प्रेम सम्बन्धको बहानामा गर्भवती बनाएर अलपत्र पारेको आरोप लागिरहेको छ । सांसद विकले बैठकमा बोल्दै सत्तारुढ दलका सांसदसँग जोडिएको गम्भीर विषय सार्वजनिक भइरहँदा संसद् मौन बस्न नसक्ने बताइन् । उनले सामाजिक सञ्जालमा फैलिएको विषयको सत्यता के हो भन्नेबारे सरकार र सम्बन्धित निकायले यथाशीघ्र स्पष्ट पार्नुपर्ने माग गरिन् । उनले यस्तो विषयले जनप्रतिनिधिको विश्वसनीयता मात्र नभएर संसद्को गरिमामाथि प्रश्न उठाउने अवस्था सिर्जना गरेको बताइन् ।
त्यस्तै, सांसद निनुकुमारी कर्णले पनि उक्त घटनालाई गम्भीर नैतिक प्रश्नसँग जोड्दै टिप्पणी गरेकी थिइन् । उनले विदेशी नागरिकलाई अलपत्र पारिएको भन्ने आरोप सार्वजनिक भइरहँदा त्यसमा संलग्न भनिएका व्यक्तिहरूले आफ्नै देशका महिलाप्रति कस्तो व्यवहार गर्छन् भन्ने प्रश्न उठ्ने बताइन् । उनले यस्ता विषयमा ढिलाइ नगरी सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग आग्रह गरिन् ।
कुनै जनप्रतिनिधि नै यस्ता गम्भीर आरोपमा संलग्न भएको प्रमाणित भएमा त्यसले लोकतान्त्रिक संस्थामाथि जनविश्वास कमजोर पार्ने चेतावनी सांसदहरुले दिएका छन् । त्यसैले सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ ।

























