संविधानले दिएको प्रेस स्वतन्त्रता कसैले खोस्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ६, बुधबार १३:३९

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रता संविधानले प्रदान गरेको मौलिक अधिकार भएकाले सरकारले चाहेर पनि त्यसलाई खोस्न नसक्ने बताएका छन् ।

उनले प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्दै त्यसको प्रयोग जिम्मेवार र मर्यादित ढंगले हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आकस्मिक तथा शून्य समयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री तिमिल्सिनाले स्वतन्त्रतालाई स्वच्छन्दताको रूपमा प्रयोग गर्न नहुनेतर्फ सञ्चार क्षेत्रलाई सचेत गराए ।

Advertisement

उनले प्रेस तथा सञ्चारमाध्यमहरूले आफ्नो गरिमा, मर्यादा र सीमाभित्र रहेर काम गर्नुपर्ने बताए । उनले राज्यको महत्वपूर्ण अंगका रूपमा रहेको सञ्चार क्षेत्रले आफ्नो ‘ओज’ र विश्वसनीयता कायम राख्दै जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे । ‘प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ । संविधानले दिएको अधिकार हो । तर, स्वतन्त्रता भनेको स्वच्छन्दता होइन । त्यसमा जवाफदेहिता पनि हुनुपर्छ,’ मन्त्री तिमिल्सिनाले भने ।

उनले सञ्चारमाध्यमले तथ्यपरक, जिम्मेवार र सन्तुलित समाचार सम्प्रेषण गर्नुपर्ने धारणा राख्दै राज्यका अंगहरूसँग सम्बन्धित क्षेत्रले आफ्नो गरिमा जोगाउने गरी काम गर्दा सरकारले हस्तक्षेप गर्न आवश्यक नपर्ने बताए । यसै क्रममा मन्त्री तिमिल्सिनाले प्रेस काउन्सिललाई अझ सशक्त र प्रभावकारी बनाउने सरकारको प्रतिबद्धता रहेको बताए । उनका अनुसार सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र उत्तरदायी बनाउन प्रेस काउन्सिलको भूमिका थप प्रभावकारी बनाइनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.