‘सरकार संसद्प्रति जवाफदेही भएन’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ७, बिहीबार ११:१८

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई)ले सरकार र प्रधानमन्त्री कार्यशैलीको विरोध गरेका छन् ।

वितगदेखि नै सरकारविरुद्ध आक्रामक बन्दै आएका साम्पाङले बिहीबार लिखित वक्तव्य जारी गर्दै सरकार र प्रधानमन्त्री संसदप्रति जवाफदेही नभएको भन्दै आपत्ति जनाएका हुन् । ‘वर्तमान सरकारले संसदीय मर्यादाको उल्लंघन गरेको छ । जनताको मतद्वारा निर्मित संसद्लाई बेवास्ता गरेको छ,’ उनले भने ।

Advertisement

‘प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र अन्य मन्त्रीहरू संसद्मा उपस्थित नहुनु र उठेका प्रश्नहरूको जवाफ नदिनुले विधि सम्मत संसद् चलिरहेको छैन भन्ने पुष्टि हुन्छ । यो प्रतिनिधिसभा सञ्चालन नियमावली १५ (२) को बर्खिलाप हो । सद्मा उपस्थित भएका दुई जना मन्त्रीहरूले पनि अत्यन्तै सतही जवाफ दिएका छन्,’ विज्ञप्ति भनिएको छ ।

साम्पाङ सभामुख डोलप्रसाद (डीपी) अर्यालप्रति पनि असन्तुष्ट बनेका छन् । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रश्न सोध्न खोज्दा सभामुखले रोकेको उनको गुनासो छ । ‘सदन भनेकै जनताका प्रश्नहरू सोध्ने र जनहितमा नियम कानुन बनाउने ठाउँ हो,’ उनले स्मरण गराए । तर, प्रश्न सोध्न नदिनु आपत्तिजनक भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

आफूले गत वैशाख २८ र २९ गते राखेका कुनै पनि प्रश्नको उत्तर सरकारले नदिएको साम्पाङको दाबी छ । उनले यसलाई लोकतन्त्र र संसदीय अभ्यासको इतिहासमा कालो धब्बाको संज्ञा दिएका छन् ।

साम्पाङले सभामुखको भूमिकाप्रति पनि प्रश्न उठाएका छन् । ‘प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसक्ने सभामुखले प्रतिपक्ष दलका नेतालाई बारम्बार नियम घोकाइरहनु निन्दनीय र हास्यास्पद देखिन्छ । नियम भन्दा नियत ठूलो हुन्छ र त्यो नियत जनता र लोकतन्त्रको पक्षमा हुनुपर्दछ,’ साम्पाङ भन्छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.