
काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई)ले संसदमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को खोजी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनको खोजी गरेका उनले आज (बिहीबार) पनि राजीनामा मागेका हुन् । उनले बारम्बार प्रधानमन्त्रीको राजीनामा माग गरिरहेका छन् । प्रतिनिधिसभा नियमावली १५ को उपनियम २ अनुसार प्रधानमन्त्रीले आफूहरूले उठाएको प्रश्नको जवाफ दिनुपर्ने अडान साम्पाङको छ ।
सभामुखलाई प्रधानमन्त्री यो संसद्को सदस्य हो कि होइन ? भन्दै प्रश्न सोधेका साम्पाङले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने माग दोहोर्याए । उनले भने, ‘मैले १० दिनअघि गृह र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्न सोधेको थिएँ । त्यसको जवाफ उहाँले दिनुपर्छ । गृहमन्त्रालय पनि उहाँकै जिम्मा भएकाले सुकुम्वासी, शान्ति सुरक्षादेखि सीमा समस्याको विषयमा मेरा प्रश्नहरू थिए । रक्षा मन्त्रालय पनि उहाँले सम्हालेको कारणले प्रधानमन्त्रीले हामीले उठाएको प्रश्नको जवाफ दिनुपर्छ ।’
उनले प्रतिनिधिसभाको नियमावलीमा ७ दिनभित्र जवाफ दिनुपर्ने उल्लेख रहेको बताए । ७ दिनमा जवाफ दिनुपर्ने भए पनि आफूले प्रश्न उठाएको १० दिन कटिसकेको साम्पाङले बताए । उनले प्रधानमन्त्रीले संसद्को गरिमा जोगाउन नसकेको आरोप लगाए । साम्पाङले केही समययता प्रधानमन्त्री शाहप्रति आक्रोश व्यक्त गरिरहेका छन् ।



















