सीमा विवाद र आक्रमण घटनापछि सरकारसँग तत्काल हस्तक्षेपको माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ७, बिहीबार १४:१३

काठमाडौं । सांसदहरूले हुम्ला र बाजुरा जिल्लाबीचमा देखिएको सीमा विवाद तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसद जयपति रोकायाले दुई जिल्लाबीचको विवाद वार्ता र संवादमार्फत समाधान गर्न सरकारसँग आग्रह गरेका हुन् । उनले सीमा विवादका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा बिरामी, विद्यार्थी तथा अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्ने सर्वसाधारण सबै प्रभावित भएको बताए ।

Advertisement

उनले राष्ट्रिय राजमार्ग तत्काल खुलाउन र समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्ने माग गरे । यसैगरी, सांसद केपी खनालले हुम्ला र बाजुरा जिल्लाको रानीसिंह क्षेत्रको सीमा विवादका क्रममा स्थानीय तथा जनप्रतिनिधिमाथि दुर्व्यवहार भएको विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले साइपाल क्षेत्र जडीबुटी र वन्यजन्तुको अपार भण्डार भएकाले त्यहाँ वर्षौंदेखि तस्करी भइरहेको भन्दै नियन्त्रणका लागि प्रहरी चौकी स्थापना गर्नुपर्ने आवश्यकता औँल्याए ।

सांसद खनालले सो क्षेत्रमा सुरक्षा व्यवस्था कमजोर हुँदा जडीबुटी तथा वन्यजन्तुको अवैध बेचबिखन बढेको उल्लेख गर्दै नियन्त्रण प्रयासका क्रममा दुर्व्यवहार भएको बताए । साथै, उनले स्थानीयको सुरक्षा सुनिश्चित गर्न, जडीबुटी संरक्षण गर्न र घाइतेको उपचार सरकारले गर्नुपर्ने माग गरे ।

त्यसैगरी, सांसद जनकराज गिरीले यही जेठ ४ गते हुम्ला र बाजुरा जिल्लाको हिमाली गाउँपालिका–३ मा प्रहरी सहायक निरीक्षक महेश धामी र हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा लगायतमाथि भएको सांघातिक आक्रमणप्रति सरकारको ध्यानाकर्षण गराए । उनले सीमा विवाद तत्काल समाधान गर्न सरकारसँग आग्रह गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.