
जनकपुरधाम । कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
पुनर्गठित मन्त्रिपरिषद्अनुसार मुख्यमन्त्री यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै अर्थ मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । त्यसैगरी श्रम तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय तथा खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मा पनि उनकै कार्यक्षेत्रमा राखिएको छ ।
नयाँ कार्यविभाजनअनुसार जङ्गीलाल रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने जवाहरलाल कुशवाहालाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मा तोकिएको छ । त्यस्तै, कनिश पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, शंकरप्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालय तथा श्यामप्रसाद पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसैगरी, फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मा दिइएको छ भने महम्मद समीर बिनाविभागीय मन्त्रीका रूपमा रहेका छन् । प्रदेश प्रमुखको कार्यालयमा बिहीबार आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका थिए ।



















