
ताप्लेजुङ । ताप्लेजुङ जिल्लालाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला’ घोषणा गरिएको छ ।फुङ्लिङमा आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूले जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरेका हुन् ।
जिल्लाका ९ वटै स्थानीय तहका सबै वडा र पालिकाहरूले पूर्ण खोप सुनिश्चितताको मापदण्ड पूरा गरेपछि ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरेको हो । सरकारले तोकेको मापदण्ड अनुसार जन्मेदेखि ५९ महिनासम्मका सबै बालबालिकाले अनिवार्य रूपमा पाउनुपर्ने सबै खोप लगाएको सुनिश्चित भएपछि यो घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख सुमन तिवारीका अनुसार जिल्लाभरका कुल ६ हजार ७ सय ८६ जना बालबालिकाले खोप सेवा प्राप्त गरेका छन् । जन्मेदेखि ११ महिनासम्मका एक हजार १२२ जना, १२ महिनादेखि १५ महिनासम्मका ४७५ जना, १६ महिनादेखि २३ महिनासम्मका ९४३ जना र २४ देखि ५९ महिनासम्मका चार हजार २४६ बालबालिकालाई खोप दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
विकट भूगोलका बाबजुद पनि स्वास्थ्यकर्मी र स्वयंसेविकाहरूको सक्रियताले नै यो उपलब्धि सम्भव भएको भन्दै उनीहरूको प्रशंसा गरिएको छ ।
घोषणा कार्यक्रममा बोल्दै मन्त्री लिम्बूले खोप सुनिश्चित हुनु मात्र ठुलो कुरा नभई यसलाई निरन्तरता दिनु (दिगोपना) चुनौतीपूर्ण रहेको बताए । उनले बालबालिकाको स्वास्थ्य अधिकार सुरक्षित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा पनि खोपको पहुँचबाट कुनै पनि बालबालिका छुट्न नहुनेमा जोड दिए ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

























