कोशीको नीति तथा कार्यक्रम : सत्तापक्षले देख्यो समृद्धिको मार्गचित्र, प्रतिपक्षले भन्यो‘सपनाको खेती’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १०, आइतबार १६:४७

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि प्रदेश सभामा बहस सुरु भएको छ । आइतबारबाट सुरु भएको छलफलमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरूबीच आरोप-प्रत्यारोपको जुहारी नै चल्यो ।

सत्तापक्षका सांसदहरूले यसलाई ‘प्रदेशको मुहार फेर्ने र जनताको जीवन बदल्ने कार्ययोजना’ का रूपमा चित्रण गरिरहँदा प्रतिपक्षले भने यसलाई ‘कार्यान्वयनको आधार नभएको र पुरानै आश्वासनको कपी-पेस्ट’ भन्दै आलोचना गरेका छन् ।

Advertisement

प्रतिपक्षको टिप्पणी: ‘आश्वासनको पुलिन्दा’

नेकपाका सांसद गोम्बु शेर्पाले सरकारको नीति तथा कार्यक्रममा वैचारिक स्पष्टता नभएको र यो केवल ‘टपरटुइँयापन’ (सतही) मात्र भएको टिप्पणी गरे । उनले भने, ‘सरकारका मन्त्रीहरू नै आफ्ना कार्यक्रमबारे अनभिज्ञ छन् । यो नीति तथा कार्यक्रम जनतालाई झुक्याउने आश्वासनको थुप्रो मात्र हो ।’

अर्का प्रतिपक्षी सांसद गणेशप्रसाद उप्रेतीले सरकारले जनभावना र पहिचानको मुद्दालाई बेवास्ता गरेको आरोप लगाए । ‘पूर्वाधार बिना नै पर्यटन वर्ष घोषणा गर्नु प्रचारमुखी कार्य मात्र हो,’उप्रेतीले भने, ‘पुराना र असफल भइसकेका योजनालाई नयाँ जलप लगाएर ल्याइएको छ ।’

सांसद बाबुराम गौतमले त सरकारको प्राथमिकतामै प्रश्न उठाए । प्रदेशका हजारौँ नागरिक ओत नपाएर सुकुम्वासी भइरहेका बेला पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीका घरलाई सङ्ग्रहालय बनाउन बजेट छुट्याउनु ‘ढोँगी समाजवाद’ भएको उनको तर्क थियो ।

सांसद सपना दर्जीले दलित र भूमिहीनका समस्या सम्बोधन गर्न नीति चुकेको बताइन्  । अर्का सांसद राजेन्द्र कार्कीले ठुला सुरुङमार्ग र रेलमार्गका योजना कागजमा मात्रै सीमित भएको भन्दै कार्यान्वयनमा इमानदारी खोजे ।

सत्तापक्षको प्रतिरक्षा: ‘समृद्धिको जग’

प्रतिपक्षको चर्को आलोचनाका बीच सत्तापक्षका सांसदहरूले भने नीति तथा कार्यक्रमको बचाउ गरे । नेकपा एमालेका सांसद राधाकृष्ण खनालले ‘युवा ट्यालेन्ट हन्ट’ र ‘म अघि बढ्छु’ जस्ता कार्यक्रमले युवा पुस्तामा नयाँ आशा जगाउने दाबी गरे । उनले यो कार्यक्रमले स्वच्छ र समुन्नत प्रदेशको परिकल्पनालाई साकार पार्ने विश्वास व्यक्त गरे ।

सांसद होमबहादुर थापाले कोशी प्रदेशलाई चिया र कफीको ‘हब’ बनाउने लक्ष्यसहित अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने योजनाले आर्थिक समृद्धिको ढोका खोल्ने बताए । उनले सङ्घीय सरकारले अधिकार नदिएको अवस्थामा पनि प्रदेशले आफ्नै बलबुँतामा अघि बढ्ने आँट गरेको तर्क गरे ।

सत्तापक्षका जयप्रकाश चौधरी र किशोरचन्द्र दुलालले यो केवल सरकारको सपना मात्र नभई प्रदेशवासीको दैनिकीसँग जोडिएको ‘जीवन बदल्ने कार्ययोजना’ भएको दाबी गरे । ‘यो नीति तथा कार्यक्रम कोशी प्रदेशका बासीसँगको दैनिकीसँग जोडिएर आएको छ,’  सांसद दुलालले भने,‘यो सरकारको सपना मात्रै होइन, प्रदेश बासीको जीवन बदल्ने कार्ययोजना हो ।’

सांसद प्रेमराज थाम्सुहाङले भने केही व्यावहारिक पक्ष औँल्याउँदै भने, ‘यो नीति कार्यक्रमको १५ प्रतिशत मात्रै कार्यान्वयन भए पनि प्रदेशका लागि ठुलो उपलब्धि हुनेछ ।’

नीति तथा कार्यक्रममाथिको यो वैचारिक मन्थन सोमबार पनि जारी रहनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.