
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकले पार्टीको आगामी केन्द्रीय कमिटी बैठक असार महिनाको दोस्रो साता बोलाउने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा चार दिनसम्म चलेको सचिवालय बैठक आइतबार सम्पन्न भएको थियो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले उपमहासचिव लेखराज भट्टले केन्द्रीय कमिटी बैठक असार १५ देखि २० गतेको बीचमा बस्ने गरी प्रारम्भिक सहमति बनेको जानकारी दिए । उनका अनुसार बैठकको मिति भने पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिवबीचको परामर्शपछि अन्तिम टुंगो लाग्नेछ ।
सचिवालय बैठकले पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको बताइएको छ । तीमध्ये प्रमुख निर्णयका रूपमा पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल)को संयोजकत्वमा निर्वाचन र पार्टी पुनर्गठनसम्बन्धी समीक्षा तथा सुधारका लागि छुट्टै समिति गठन गर्ने विषय रहेको छ । उक्त समितिले पछिल्ला निर्वाचन परिणाम, संगठनात्मक कमजोरी र सुधारका सम्भावित उपायबारे विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गर्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, प्रदेश तथा स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टीले प्राविधिक सहयोग विस्तार गर्ने निर्णय पनि गरेको छ । उपमहासचिव भट्टका अनुसार प्रदेशहरूले आफ्ना नीति तथा प्राथमिकता तय गरिसकेकाले अब बजेट निर्माण प्रक्रियामा आवश्यक प्राविधिक सहयोग पुर्याउन केन्द्रबाट विज्ञहरूको टोली छनोट गरी सम्बन्धित प्रदेशहरूमा पठाइनेछ । यसले बजेटलाई बढी व्यावहारिक, योजनामुखी र कार्यान्वयनयोग्य बनाउन मद्दत पुग्ने पार्टीको बुझाइ छ ।
बैठकमा संगठनभित्रको एकता, समन्वय र उत्साहबारे पनि छलफल भएको थियो । हाल पार्टीभित्र विकसित भएको एकताको भावना र सकारात्मक ऊर्जा आगामी दिनमा अझ मजबुत हुँदै जाने विश्वास व्यक्त गरिएको छ । यसले कार्यकर्ता पंक्तिमा मात्र नभएर आम जनतामा पनि नयाँ उत्साह पैदा गर्ने अपेक्षा गरिएको छ ।
चार दिनसम्म चलेको सचिवालय बैठकले समग्रमा पार्टीको आन्तरिक संरचना सुदृढीकरण, निर्वाचनपछिको समीक्षा, र आगामी राजनीतिक तथा विकास नीतिहरूलाई प्रभावकारी बनाउने दिशामा केन्द्रित निर्णयहरू गरेको छ । अब तय हुने केन्द्रीय कमिटी बैठकले यी निर्णयहरूलाई थप औपचारिकता दिँदै पार्टीको आगामी रणनीति स्पष्ट गर्ने अपेक्षा गरिएको छ । सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामाको विषय जोडतोडका साथ उठेको थियो ।



















