सरकारका प्रवक्ताको ‘झुक्याउने अभिव्यक्ति’ : विरोधाभासबीच रवि लामिछाने दिल्ली जाने तयारीमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ११, सोमबार १७:३७

काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)का सभापति रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् ।

तर, पछिल्ला राजनीतिक घटनाक्रम, भारततर्फबाट भएका कूटनीतिक पहल तथा लामिछानेको तय भएको भ्रमणका विवरणले सरकारको आधिकारिक अभिव्यक्तिमाथि नै प्रश्न उठाएको छ । सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता पोखरेलले प्रधानमन्त्री शाह अहिले कुनै पनि विदेश भ्रमणको तयारीमा नरहेको बताए ।

Advertisement

‘सभापतिज्यू आफ्नै ढंगले जाँदै हुनुहुन्छ । प्रधानमन्त्रीज्यूको त्यससँग केही सम्बन्ध छैन,’ उनले भने । उनले सरकारको प्राथमिकता अहिले पहिलो सय दिनको काममा केन्द्रित रहेकाले भ्रमण प्राथमिकतामा नरहेको पनि जिकिर गरे ।

तर, राजनीतिक तथा कूटनीतिक वृत्तमा भने भारतले प्रधानमन्त्री शाहको भ्रमण अनिश्चित बनेपछि रवि लामिछानेलाई विशेष महत्वका साथ निम्त्याएको चर्चा चुलिएको छ । रास्वपा स्रोतका अनुसार लामिछाने भारतीय विदेश मन्त्रालय तथा भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा जाने तयारीमा छन् ।

भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम तय भएको दाबी गरिएको छ । यद्यपि, यसको औपचारिक पुष्टि भने अझै सार्वजनिक गरिएको छैन । लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकर, भारतीय विदेश सचिव विक्रम मिश्रीलगायत उच्च अधिकारीसँग पनि भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनसँग पनि भेटघाटको तयारी गरिएको र पार्टी कार्यालयमै स्वागत कार्यक्रम राखिएको स्रोतको भनाइ छ । रास्वपा निकट स्रोतका अनुसार लामिछाने जेठ १८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली प्रस्थान गर्नेछन् । भारत भ्रमण सकेर जेठ २० गते फर्किने छन् । उनीसँग पत्नी निकिता, स्वकीय सचिव तथा दुई सांसद पनि भ्रमण टोलीमा रहनेछन् ।

सांसदद्वय विपिनकुमार आचार्य र दीपक बोहरा पनि भ्रमणमा सहभागी हुने बताइएको छ । लामिछानेको अयोध्या भ्रमणको कार्यक्रमसमेत तय गरिएको चर्चा छ ।

यसबीच प्रधानमन्त्री शाहको भारत भ्रमण किन रोकियो भन्ने प्रश्न पनि उठिरहेको छ । यसअघि भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आएर प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिने तयारीमा रहेको चर्चा थियो । तर, प्रधानमन्त्रीसँग भेटको समय नमिलेपछि उनको नेपाल भ्रमण नै स्थगित भएको बताइएको थियो ।

त्यसपछि नेपाल–भारत सम्बन्धमा थप चिसोपन देखिएको विश्लेषण भइरहेको छ । भारत र चीनबीच लिपुलेक हुँदै कैलाश–मानसरोवर यात्रा सञ्चालन गर्ने सहमति सार्वजनिक भएपछि नेपाल सरकारले दुवै देशलाई कूटनीतिक नोट पठाएर असन्तुष्टि जनाएको थियो । नेपालसँग कुनै परामर्श नगरी नेपाली भूमि समेटिएको क्षेत्रमा समझदारी गरिएको भन्दै सरकारले विरोध जनाएको थियो ।

यतिमात्र होइन, परराष्ट्रमन्त्री शिशिर खनालको प्रस्तावित भारत भ्रमणसमेत अन्तिम समयमा स्थगित भएको थियो । यी सबै घटनाक्रमबीच भारतले रवि लामिछानेलाई उच्च प्राथमिकतासहित निमन्त्रणा दिएको समाचार बाहिरिएपछि सरकारको आधिकारिक भनाइ र वास्तविक कूटनीतिक गतिविधिबीच विरोधाभास देखिएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार प्रधानमन्त्री शाहले भारतसँग तुलनात्मक दूरी कायम राख्ने संकेत गरिरहेका बेला भारतले वैकल्पिक राजनीतिक शक्ति र उदाउँदै गरेको नेतृत्वसँग सम्बन्ध सुदृढ गर्न खोजेको सन्देश दिन खोजेको हुनसक्छ । विशेषगरी नेपालमा रास्वपाले पछिल्लो समय हासिल गरेको जनसमर्थनलाई भारतले नजिकबाट हेरिरहेको आकलन गरिएको छ ।

यसअघि प्रधानमन्त्री बनेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बालेन्द्र शाह र रवि लामिछाने दुवैलाई टेलिफोनमार्फत बधाई दिएका थिए । तर, पछिल्लो चरणमा प्रधानमन्त्रीको सम्भावित भारत भ्रमण अनिश्चित बन्नु र त्यसैबीच लामिछानेको उच्चस्तरीय राजनीतिक भेटघाटसहित दिल्ली भ्रमण तय हुनु अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ ।

यस्तो अवस्थामा सरकारका प्रवक्ता पोखरेलले ‘प्रधानमन्त्रीको भ्रमणसँग यसको कुनै सम्बन्ध छैन’ भनेर दिएको अभिव्यक्तिलाई धेरैले वास्तविकता ढाकछोप गर्ने प्रयासका रूपमा समेत व्याख्या गर्न थालेका छन् । सरकारका प्रवक्ताले झुक्याउने अभिव्यक्ति दिएको चर्चा भइरहेको छ ।

तपाइको प्रतिक्रिया
प्रधानन्यायाधीशविरुद्धको रिटमा सर्वाेच्च : ‘औचित्य सकियो’
देउवा दम्पतीकाे विषयमा सर्वाेच्चले उठायाे गम्भीर प्रश्न (पूर्णपाठ)
एसियाली खेलमा पलेशालाई कांस्य
एसियाली खेलमा पलेशालाई कांस्य
बिर्तामोडबाट भन्सार छलीका कपडा बरामद
सुकुम्वासी संघर्ष समितिद्वारा देशव्यापी आन्दोलनको घोषणा
एथलेटिक्स टोली हङकङ जाने
एथलेटिक्स टोली हङकङ जाने
डाइनियामा माेटरसाइकलकाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु
क्रियाशील सदस्यता अद्यावधिकमा कांग्रेसको कडाइ, प्रदेशमा जिम्मेवारी बाँडफाँट
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
सरकारका प्रवक्ताको ‘झुक्याउने अभिव्यक्ति’ : विरोधाभासबीच रवि लामिछाने दिल्ली जाने तयारीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.