नेपाल प्रेस युनियनको ३५ औँ स्थापना दिवस 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १३, बुधबार ०८:३३
नेपाल प्रेस युनियनको ३५ औँ स्थापना दिवस 

काठमाडौं । नेपाल प्रेस युनियनले देशभर विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो ३५ औँ स्थापना दिवस मनाउँदै छ । दिवसका अवसरमा युनियनको केन्द्रीय समितिले काठमाडौंमा ‘विशेष विधान महाधिवेशन’ आयोजना गरेको छ भने देशभरका सबै शाखाहरूले पनि विविध कार्यक्रम गरिरहेका छन् ।

विधान महाधिवेशनको पूर्वसन्ध्यामा बुधबार (आज) बिहान माइतीघर मण्डलामा प्रभातफेरी आयोजना गरिएको थियो । युनियनका अध्यक्ष शिव लम्सालका अनुसार विधान महाधिवेशनको उद्घाटन मुलुकका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गर्ने कार्यक्रम तय भएको छ । महाधिवेशनमा सहभागी हुन देशभरका सबै शाखाबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा तोकिएका प्रतिनिधिहरू काठमाडौं आइपुगेको युनियनका उपाध्यक्ष जीवन भण्डारीले जानकारी दिए ।

Advertisement

श्रमजीवी पत्रकारहरूको हकहित संरक्षणका लागि भएको ट्रेड युनियन आन्दोलनको जगमा २०४८ साल जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना भएको थियो । नेपालका सञ्चारकर्मीलाई संगठित गरी श्रमजीवी पत्रकारहरूको पक्षमा वकालत गर्दै आएको यो संस्था अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) बाट सदस्यता प्राप्त गर्ने नेपालको पहिलो संस्था पनि हो ।

युनियनको पहिलो तदर्थ समितिको संयोजकका रूपमा पूर्वमन्त्री एवं तत्कालीन पत्रकार जेपी गुप्ता रहेका थिए । यसका १७ जना संस्थापक सदस्यहरूमा हरि अधिकारी, रमेश तुफान, राजेश ढुंगाना, शिरीषबल्लभ प्रधान, शोभाकर पराजुली, जगदीश घिमिरे, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, हरिहरप्रसाद श्रेष्ठ, गणेशप्रसाद नेपाल, तारानाथ दाहाल, कृष्ण कँडेल, योगेश उपाध्याय, यादव थपलिया, रामचन्द्र उप्रेती र गणेशबल्लभ प्रधान रहेका थिए ।

हालसम्म युनियनको नेतृत्व हरि अधिकारी, रमेश तुफान, तारा बराल, कुलचन्द्र वाग्ले, मुरारीकुमार शर्मा, समीरजंग शाह, किरण पोखरेल र बद्री सिग्देलले गरिसकेका छन् । हाल शिव लम्सालको नेतृत्वमा कार्यसमिति रहेको छ ।

युनियनले श्रमजीवी पत्रकारहरूको हक अधिकार, प्रेस स्वतन्त्रता, लोकतन्त्र तथा मिडियामैत्री नीतिगत व्यवस्थाका लागि नेतृत्वदायी भूमिका खेल्दै आएको महासचिव दिलीप पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.