जेनजी आन्दोलनका थुनुवा नछोडिए जेठ १५ देखि आमरण अनसन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १३, बुधबार १०:४१
जेनजी आन्दोलनका थुनुवा नछोडिए जेठ १५ देखि आमरण अनसन

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले जेनजी आन्दोलनलाई अपराधीकरण नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् । प्रश्न उठाएको र आन्दोलनमा सहभागी भएकै भरमा युवाहरूलाई पक्राउ गरी झुटा मुद्दा लगाइएको भन्दै उनले सरकार र जनप्रतिनिधिहरूलाई कडा चेतावनी दिएकी हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै संयोजक बमले जेलमा रहेका युवाहरूको भविष्य र परिवारको अवस्थाप्रति संवेदनशील हुन आग्रह गरेकी छन् । उनले लेखेकी छन्, ‘आज जेलभित्र रहेका ती युवाहरूलाई सम्झिनुहोस्, भोलि तिनै युवा तपाईंहरूको सत्ताप्रतिको सबैभन्दा ठुलो आक्रोश बनेर निस्किन सक्छन् । निर्दोष युवाहरूलाई तत्काल रिहा गरियोस् ।’ उनले जेनजी आन्दोलनकै जगमा संसदमा पुगेका सांसदहरूलाई समेत आफ्नो नैतिक जिम्मेवारी नबिर्सन र युवामाथिको अन्याय रोक्न माग गरेकी छन् ।

Advertisement

यसैबीच, ‘जेनजी आन्दोलन थुनुवा पीडित अभिभावक समिति नेपाल’ ले पनि आफ्ना मागहरू पूरा नभए आगामी जेठ १५ गते (गणतन्त्र दिवस) देखि माइतीघर मण्डलामा आमरण अनशनसहितको सशक्त आन्दोलन गर्ने घोषणा गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै समितिले सरकारसँग भएको १० बुँदे सम्झौता कार्यान्वयन गर्न र थुनुवाहरूलाई तत्काल रिहा गर्न माग गरेको छ ।

समितिका अनुसार गत भदौमा भ्रष्टाचार र कुशासनविरुद्ध भएको आन्दोलनमा राज्यले अत्यधिक बल प्रयोग गर्दा ७६ जनाको गैर न्यायिक हत्या भएको र सयौँ युवालाई थुनामा राखेर ९ सयभन्दा बढी मुद्दा दायर गरिएको उल्लेख छ । सरकारले मंसिर २४ गते गरेको सम्झौताको बुँदा नं. २ (१५ दिनभित्र थुनुवा रिहा गर्ने) लाई पूर्ण रूपमा बेवास्ता गरेको अभिभावकहरूको आरोप छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.