
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको वार्तामा हतार नगर्न आफ्ना प्रतिनिधिलाई निर्देशन दिएका छन् ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार प्रस्तावित सम्झौतामा ६० दिने युद्धविराम लम्ब्याउने, होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने तथा इरानको आणविक कार्यक्रमबारे थप छलफल गर्ने विषय समेटिएको छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन् ।
तर, दुवै पक्षले समय लिएर मात्रै अन्तिम निर्णय गर्नुपर्ने उनको भनाइ छ । यसअघि उनले सम्झौता अन्तिम चरणमा पुगेको संकेत दिएका थिए ।
इरानी पक्षले भने अझै केही संवेदनशील विषयमा सहमति हुन बाँकी रहेको जनाएको छ । इरानका विदेश मन्त्रालयले समेत प्रगति भए पनि मुख्य मुद्दामा छलफल जारी रहेको जनाएको छ ।
सम्भावित सम्झौताले अमेरिकी रिपब्लिकन वृत्तमै मतभेद बढाएको छ । केही नेताहरूले यसलाई इरानप्रति नरम नीति भनेका छन् भने अन्यले कूटनीतिक उपलब्धिका रूपमा व्याख्या गरेका छन् ।
अमेरिका र इजरायलले फेब्रुअरी अन्त्यमा इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव चुलिएको थियो । त्यसपछि इरानले प्रतिआक्रमण गरेको थियो । अप्रिलमा युद्धविराम भएपछि वार्ता निरन्तर जारी छ ।
ट्रम्पले इरानलाई आणविक हतियार विकास गर्न नदिने अमेरिकी नीति दोहोर्याउँदै सम्झौता नभएसम्म इरानी बन्दरगाहमाथिको नाकाबन्दी कायम रहने बताएका छन् ।



















