
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन् ।
पार्टी स्थापना भएको ३६ वर्ष पूरा भएको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले आयोगले दोषी ठहर गरेका व्यक्तिहरूले पनि कानुनी प्रक्रिया पूरा गरेर यथाशीघ्र सफाइ लिनुपर्ने बताएका हुन् । उनले मानव अधिकार आयोगको प्रतिवेदन नेपालभित्र मात्रै सीमित नरहने, संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय मानव अधिकारसँग सम्बन्धित निकायहरूको अभिलेखमा समेत रहने भएकाले त्यसलाई गम्भीर रूपमा लिनुपर्ने उल्लेख गरे ।
विगतमा मानव अधिकार उल्लंघनमा दोषी ठहर भएका व्यक्तिहरूलाई विभिन्न देशहरूले विदेश भ्रमणमा रोक लगाएका घटनासमेत रहेको उनको भनाइ थियो । अध्यक्ष लिङ्देनले उक्त प्रतिवेदनले धेरै विषय उजागर गरेको दाबी गर्दै सरकारले त्यसको कार्यान्वयनमा अग्रसरता देखाउनुपर्ने आवश्यकता औँल्याए । साथै, उनले राप्रपा मुलुकको एकमात्र वैकल्पिक राजनीतिक शक्ति भएको जिकिर गर्दै पार्टी पंक्तिलाई निराश नभई अघि बढ्न आह्वान गरे ।

























