
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकमा लामो समयदेखि देखिएको राजनीतिक अस्थिरताको अवस्था अन्त्यतर्फ पुगेको दाबी गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेट प्रस्तुत गर्नुअघि संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले देश अहिले आर्थिक सुधारको निर्णायक चरणमा प्रवेश गरेको बताएका हुन् । बजेट वक्तव्य अघि संसद्मा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालका समष्टिगत आर्थिक सूचकहरू क्रमशः सकारात्मक दिशातर्फ उन्मुख भइरहेको उल्लेख गरे ।
उनले अर्थतन्त्रमा देखिएका चुनौतीहरू क्रमशः नियन्त्रणमा आउँदै गएको दाबी गर्दै वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको पनि बताए । उनका अनुसार सरकार आर्थिक सुधार, लगानी विस्तार र निजी क्षेत्रको विश्वास पुनःस्थापित गर्ने दिशामा अघि बढिरहेको छ । उनले राजनीतिक स्थायित्व कायम हुँदै जाँदा आर्थिक गतिविधि पनि चलायमान बन्न थालेको धारणा राखे ।

























