राष्ट्रियसभामा विधेयक अड्कियो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १७, आइतबार १३:४४

काठमाडौं । राष्ट्रियसभाको बैठक आइतबार कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । प्रतिनिधिसभाबाट पारित भएर आएका दुई महत्वपूर्ण विधेयकमा सहमति जुट्न नसक्दा बैठक प्रभावित बनेको हो ।

बिहान सवा ११ बजेका लागि बोलाइएको बैठक करिब एक घण्टा ढिलो सुरु भएको थियो । बैठकमा शून्य समय सञ्चालन गरिए पनि त्यसपछि सभाध्यक्ष नारायण दाहालले विशेष समय नराखिएको जानकारी दिँदै २० मिनेटका लागि बैठक स्थगित गरेका थिए । तर, त्यसपछि बैठक पुनः सञ्चालन हुन सकेको छैन ।

Advertisement

आइतबारको कार्यसूचीमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि छलफल गरी पारित गर्ने तयारी थियो । तर, राष्ट्रियसभामा दर्ता भएका संशोधन प्रस्तावका कारण सरकारलाई विधेयक अघि बढाउन कठिनाइ परेको हो ।

विशेषगरी मतदाता नामावली संशोधन विधेयकको एउटा प्रावधान विवादको केन्द्र बनेको छ । प्रतिनिधिसभा विघटन भएर निर्वाचन घोषणा भएको अवस्थामा आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न सक्ने व्यवस्था विधेयकमा राखिएको छ । नेकपा (एमाले)की सांसद रोशनी मेचेसहित केही सांसदहरूले उक्त व्यवस्था नै हटाउन माग गर्दै संशोधन दर्ता गरेका छन् ।

सरकार अहिले संशोधनकर्तासँग सहमति खोज्ने प्रयासमा छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रियसभामा रहेका विभिन्न दलका प्रतिनिधिसँग छलफल गरिरहेकी छन् । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले कानुनी भाषासहितका विषयमा पुनः छलफल भइरहेको बताएका छन् ।

प्रतिनिधिसभामा सहज रूपमा पारित भएका विधेयक राष्ट्रियसभामा पुगेपछि भने राजनीतिक र कानुनी बहसमा तानिएका हुन् । राष्ट्रियसभामा सत्तारुढ दल रास्वपाको उपस्थिति नभएकाले सरकारलाई अन्य दलको समर्थन आवश्यक परेको छ ।

५९ सदस्यीय राष्ट्रियसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । कांग्रेसका २४, नेकपाका १७, एमालेका १०, जसपा नेपालका दुई तथा लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद रहेका छन् । राष्ट्रपतिबाट मनोनित हुने तीन सदस्यमध्ये हाल दुई जना मात्रै पदमा छन् भने एक स्थान रिक्त छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.