आगामी निर्वाचनको तयारीमा एमाले, मोरङका पालिकाहरुमा खटाइए नेता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १७, आइतबार १७:२८

विराटनगर । आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले)ले मोरङका १७ वटै स्थानीय तहमा ‘मिसन पार्टी जागरण अभियान’अन्तर्गत नेताहरु खटाएको छ ।

संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन, जनसम्बन्ध विस्तार तथा निर्वाचन तयारीलाई केन्द्रमा राखेर एमालेले केन्द्रीयदेखि जिल्ला तहसम्मका नेताहरुलाई विशेष जिम्मेवारीसहित पालिकामा खटाएको हो । पार्टीले जेठ १५ गते अन्तरपार्टी निर्देशन–२ (अपानि–२) जारी गर्दै मोरङका पालिकाहरुमा नेताहरुको कार्यविभाजन गरेको छ ।

Advertisement

यस अभियानअन्तर्गत खटाइएका नेताहरुले स्थानीय तह तथा प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरेर संगठन विस्तार, कार्यकर्ता व्यवस्थापन, जनसंपर्क विस्तार र पार्टी गतिविधिलाई सक्रिय बनाउने जिम्मेवारी पाएका छन् । एमालेले केन्द्रीय सदस्य पर्शुराम बस्नेतलाई विराटनगर महानगरपालिकाको जिम्मेवारी दिएको छ ।

बस्नेतले महानगरमा केन्द्रीय प्रतिनिधिको भूमिकामा रहेर पार्टी गतिविधि सञ्चालन गर्नेछन् । यसअघि पनि उनी एमालेको कोशी प्रदेश सचिवालय सदस्य रहँदा विराटनगर महानगर इन्चार्जको जिम्मेवारीमा थिए । हाल उनी एमालेनिकट नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्षसमेत हुन् ।

त्यस्तै, केन्द्रीय सदस्य जीवन घिमिरेलाई ग्रामथान गाउँपालिका, ऋषिकेश पोखरेललाई उर्लाबारी नगरपालिका, दिलिप अग्रवाललाई रंगेली नगरपालिका तथा शिल्पा निराला कार्कीलाई कटहरी गाउँपालिकाको जिम्मेवारी दिइएको छ । जेठ ४ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको एमालेको केन्द्रीय सचिवालय बैठकले ११ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्दै उनीहरुलाई विभिन्न क्षेत्रमा केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएको थियो । सोही निर्णयअनुसार मोरङमा पनि नेताहरु परिचालित भएका हुन् ।

केन्द्रीय सदस्य घिमिरे कोशी प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री हुन् भने एमाले मोरङका पूर्वअध्यक्ष पोखरेल यसअघि संसदको सार्वजनिक लेखा समितिका सभापति थिए । त्यसैगरी अग्रवाल रंगेली नगरपालिकाका पूर्वमेयर हुन् । मेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिएका उनी मोरङ निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कृष्णकुमार कार्कीसँग पराजित भए । कार्की हाल विराटनगर महानगरपालिकाको उपमेयर छिन् ।

एमालेले सुनवर्षी नगरपालिकामा उद्धव पोखरेल, रतुवामाई नगरपालिकामा पूर्वस्थायी कमिटी सदस्य लालबाबु पण्डित, पथरीशनिश्चरे नगरपालिकामा प्रतिनिधिसभा सदस्य एवं पार्टीका पूर्वउपाध्यक्ष गुरु बराल तथा लेटाङ नगरपालिकामा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा लाई जिम्मेवारी दिएको छ । त्यसैगरी बेलबारी नगरपालिकामा इरान राई, सुन्दरहरैँचा नगरपालिकामा नरेश पोखरेल, धनपालथान गाउँपालिकामा भूराज राई, जहदा गाउँपालिकामा पूर्वकेन्द्रीय सदस्य रामलाल साह, कानेपोखरी गाउँपालिकामा गाउँपालिका अध्यक्ष राजकुमारी इङ्नाम, बूढीगंगा गाउँपालिकामा पूर्वकेन्द्रीय सदस्य विनोद ढकाल, मिक्लाजुङ गाउँपालिकामा डिल्ली अधिकारी तथा केराबारी गाउँपालिकामा प्रदेशसभाका पूर्वसदस्य राजकुमार ओझालाई विशेष जिम्मेवारी दिइएको छ ।

एमालेले ‘मिसन पार्टी जागरण अभियान’लाई देशव्यापी रूपमा सञ्चालन गर्दै संगठनात्मक पुनर्जागरण, जनाधार विस्तार र पार्टीप्रति कार्यकर्ताको विश्वास मजबुत बनाउने रणनीति अघि सारेको छ । अपानि–२ मार्फत पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो निर्वाचन परिणामलाई पार्टीले गम्भीर रूपमा समीक्षा गरिरहेको उल्लेख गर्दै कार्यकर्तालाई निराश नहुन, संगठनबाट पलायन नहुन र पार्टीप्रति प्रतिबद्ध भएर सक्रिय रहन आग्रह गरेका छन् ।

एमालेले आगामी निर्वाचनलाई लक्षित गरेर गाउँदेखि महानगरसम्म संगठन पुनर्संरचना, जनसम्पर्क सुदृढीकरण र पार्टी गतिविधिलाई तीव्र बनाउने तयारीका साथ अभियान अघि बढाइएको जनाएको छ । पार्टीले दिएको जिम्मेवारी अनुसार नेताहरु पालिका–पालिकामा खटिएका छन् ।

तपाइको प्रतिक्रिया
‘प्रचण्ड’को स्वास्थ्य स्थिर, केहीदिन अस्पतालमै रहने
मेचीनगरमा काठमाडौंका युवक पक्राउ
रास्वपा महाधिवेशन : मूल आयोजक समिति गठन
प्रधानमन्त्रीको ‘सीमा अभिव्यक्ति’ले राजनीति तरंगित, नेपालले कहाँ मिच्यो भारतको भूमि ?
प्रधानमन्त्रीको अभिव्यक्तीप्रति सडकमा विद्यार्थीको नारा : ‘जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा’
प्रधानमन्त्रीको अभिव्यक्तिपछि रास्वपाले बोलायो सचिवालय बैठक
‘प्रधानमन्त्रीले बोल्नुअघि सोच्नुपर्छ’
भीम रावलले मागे प्रधानमन्त्रीकाे राजीनामा
अर्थमन्त्री भन्छन् : शिक्षामा ३ प्रतिशत कर प्रगतिशील हाे
आगामी निर्वाचनको तयारीमा एमाले, मोरङका पालिकाहरुमा खटाइए नेता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.