
काठमाडौं । सरकारकाे नेतृत्व गरिरहेकाे दल रास्वपाका सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदैछन् ।
भारतीय जनता पार्टी (भाजपा) काे निमन्त्रणामा उनी आज त्यस तर्फ जान लागेका हुन् । भाजपाले भ्रमणबारे औपचारिक जानकारी दिएलगत्तै रास्वपाले पनि सभापति लामिछानेको भारत भ्रमण कार्यक्रम सार्वजनिक गरेको छ ।
रास्वपाले आइतबार राति प्रेस विज्ञप्ति जारी गर्दै सभापति लामिछाने भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमणमा जान लागेको बताएको हो ।
पार्टी प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा सभापति लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने उल्लेख छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाई पनि भेट्नेछन् ।
भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।
यसबीच व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ।
पार्टी सभापतिसँगै जाने प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य रहेको विज्ञप्तिमा उल्लेख छ।

























