प्रधानमन्त्रीको विवादित अभिव्यक्तिपछि तात्यो संसद, विपक्षीको यस्तो धारणा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १८, सोमबार १४:५२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्मा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा तीव्र विरोध भइरहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता नलिएसम्म सदन सञ्चालन हुन नदिने चेतावनी दिएको छ भने सत्तारूढ दलभित्रै पनि प्रधानमन्त्रीमाथि प्रश्न उठ्न थालेका छन् । विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको राष्ट्रिय अडान कमजोर बनाएको आरोप लगाएका छन् ।

Advertisement

प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिले सम्पूर्ण नेपालीको शिर निहुरिएको टिप्पणी गरे । उनले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्ति अब नजिरका रूपमा स्थापित भएको भन्दै त्यसको गम्भीर असर पर्ने बताए ।

उनले भने, ‘आज सदनमा बोल्दै गर्दा मेरो शिर निहुरिएको छ । हिजो प्रधानमन्त्रीज्यूले छाती चौडा बनाएर बोल्नुभएको विषयले आज मेरो मात्र होइन, आम नेपाली नागरिकको शिर निहुराएको छ । यस्तो अभिव्यक्ति नजिर बनेर स्थापित भएको छ । यो अभिव्यक्ति फिर्ता नलिएसम्म हामी सदन सञ्चालनमा सहयोग गर्न सक्दैनौँ ।’

राईले प्रधानमन्त्रीलाई सिधा प्रश्न गर्दै नेपालले भारतको कुन भू–भाग मिचेको हो भनेर स्पष्ट पार्न माग गरे । उनले सरकारले आधिकारिक रूपमा त्यस्तो दाबी गरेको हो भने त्यसको विस्तृत विवरण संसद्लाई दिनुपर्ने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले संसद्लाई जानकारी गराउनुपर्छ कहाँकहाँ नेपालले भारतको जमिन मिच्यो । एक–एक इन्चको हिसाब चाहिन्छ । भोलि भारतले आफ्नो भूमि फिर्ता चाहिन्छ भन्यो भने कुन जग्गा दिने ?’

कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिलाई व्यक्तिगत धारणा मात्रै नभई राज्यको आधिकारिक दृष्टिकोणका रूपमा अन्तर्राष्ट्रिय समुदायले लिन सक्ने भन्दै त्यसले नेपालको कूटनीतिक स्थिति कमजोर बनाउन सक्ने चिन्ता व्यक्त गरेको छ । कांग्रेस सांसदहरूले सत्तापक्षका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिमा ताली बजाएको विषयलाई पनि गैरजिम्मेवार व्यवहारको संज्ञा दिएका छन् ।

यसैबीच, नेकपा (एमाले)का सचेतक ऐन महरले समेत प्रधानमन्त्रीमाथि प्रश्न उठाएका छन् । उनले प्रधानमन्त्रीले विदेशी शक्तिलाई खुसी पार्ने उद्देश्यले अभिव्यक्ति दिएको आशंका व्यक्त गरे ।

प्रतिनिधिसभामा बोल्दै उनले भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्रीको अभिव्यक्तिपछि खुसी व्यक्त गरेको दाबी गरे । महरले प्रधानमन्त्रीको अभिव्यक्तिको समय र त्यसपछि विकसित घटनाक्रमलाई जोड्दै त्यसको राजनीतिक उद्देश्यबारे प्रश्न उठाए ।

उनले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिपछि भारतीय मिडियाहरूमा खुसी मनाउने काम भयो । के हाम्रो प्रधानमन्त्रीले विदेशीहरूलाई खुसी बनाउने रणनीति लिनुभएको हो ? रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमणमा जानुभएको छ । प्रधानमन्त्रीले भ्रमणको माहोल बनाउनु भएको हो ? गम्भीर प्रश्न सिर्जना भएको छ ।’ महरले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र कूटनीतिक संवेदनशीलतालाई असर पुर्‍याएको टिप्पणी गरे । संसद्मा व्यक्त हुने विषयहरू अत्यन्त जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । उनले प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेको विषयलाई देशको आधिकारिक धारणा मानिने भएकाले तथ्य र प्रमाणविना त्यस्तो अभिव्यक्ति दिन नहुने बताए ।

शाहीले संसद्मा भने, ‘चिया पसलको गफ र संसद्को अभिव्यक्ति बीच फरक हुन्छ । सामान्य नागरिकले भनेको कुरा र देशको प्रधानमन्त्रीले भनेको कुराको प्रभाव फरक हुन्छ । प्रधानमन्त्रीज्यूले जब कुनै दाबी गर्नुहुन्छ, त्यसलाई देशले सरकारी धारणा ठान्छ । अन्तर्राष्ट्रिय समुदायले नेपालको आधिकारिक दृष्टिकोणको रूपमा लिन्छ । जनताले त्यसलाई सत्यका रूपमा ग्रहण गर्छन् । त्यसैले प्रधानमन्त्रीका अभिव्यक्तिहरू तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्छ ।’

उनले तथ्यांक र प्रमाणबिना दिइएका अभिव्यक्तिहरू राजनीतिक भाषणका रूपमा सीमित हुन सक्ने भए पनि राज्य सञ्चालनको आधार बन्न नसक्ने धारणा राखे । प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेको विषयको प्रमाण प्रस्तुत गर्नुपर्ने उनको माग थियो ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा दबाब बढ्दै जाँदा संसद्को वातावरण थप तनावपूर्ण बनेको छ । कांग्रेसले अभिव्यक्ति फिर्ता नभएसम्म सदन चल्न नदिने अडान दोहोर्‍याएको छ भने अन्य दलहरूले पनि प्रधानमन्त्रीसँग स्पष्टीकरण मागिरहेका छन् । यसले संसद्को आगामी कार्यसूची र राजनीतिक समीकरणमा समेत प्रभाव पार्ने देखिन्छ ।

त्यस्तै, श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री शाहलाई आफूले हिजो प्रश्न सोधेकोप्रति आत्मग्लानि प्रकट गरेका छन् । प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाएर मात्र नपुग्ने बताउँदै उनले संसदमा आएर माफी माग्नुपर्ने धारणा राखे ।

राईले आइतबार सोधेको लिपुलेक लिम्पियाधुरा सम्बन्धी प्रश्नमा जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भनेर विवादित जवाफ दिएका थिए । राईले भने, ‘यदि यस्तो भ्रामक र तथ्यहीन जवाफ प्रधानमन्त्रीले दिनुहुन्छ भन्ने लागेको भए म त्यो प्रश्न सोध्ने थिइनँ । मलाई आत्मग्लानि भइरहेको छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.