
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संसदमा दिएको सीमा सम्बन्धि विवादास्पद अभिव्यक्तिका कारण मुलुकको राजनीति गर्माएको छ । आइतबार प्रतिनिधि सभामा सांसदहरूका प्रश्नको जबाफ दिने क्रममा प्रधानमन्त्रीले ‘भारतले मात्र होइन, नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ’ भनेका थिए । याे अभिव्यक्तिका कारण अहिले सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि दबाब बढेको छ । प्रधानमन्त्रीकाे राजीनामा माग गर्दै विराेध प्रदर्शन भएका छन् ।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ र ‘कूटनीतिक मर्यादा विपरीत’ भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले घोर भर्त्सना गरेका छन् ।
नेपाली कांग्रेसले प्रधानमन्त्रीले राष्ट्रहित विपरीत बोलेको भन्दै संसदमा प्रस्टीकरण दिन माग गरेकाे छ । प्रधानमन्त्रीकाे अभिव्यक्ति संसदकाे रेकर्डबाट हटाउनु पर्ने कांग्रेसकाे माग छ । नेकपा एमालेले ऐतिहासिक तथ्य र प्रमाणविपरीत बोलेको भन्दै प्रधानमन्त्रीले देश र जनतासँग माफी माग्नुपर्ने अडान राखेको छ ।
नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले पनि राष्ट्रियताको विषयमा कार्यपालिका प्रमुखबाटै गैरजिम्मेवार अभिव्यक्ति आउनु दुःखद् भएको बताउँदै सार्वजनिक रुपमा माफी माग्न आग्रह गरेकाे छ ।
विपक्षीले लगातार संसद अवरोध गर्दा आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथिको छलफल प्रभावित भएको छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिबारे सत्तारुढ रास्वपाले भने औपचारिक मुख खोलेको छैन । रास्वपा नेताहरूले परराष्ट्र मन्त्रालयले जारी गरेको स्पष्टीकरण नै पार्टीको धारणा भएको बताएका छन् । पार्टीको सचिवालय बैठकमा यसबारे ठोस छलफल नभएको र ध्यान महाधिवेशनतर्फ केन्द्रित रहेको रास्वपा नेताहरुकाे दाबी छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिले कूटनीतिक तरंग पैदा गरिरहेकै बेला रास्वपा सभापति रवि लामिछाने पाँच दिने भ्रमणका लागि सोमबार भारत प्रस्थान गरेका छन् । भारत जाने क्रममा उनलाई पत्रकारले प्रश्न गर्दा फर्किएर बाेल्ने भन्दै उनले जवाफ दिएनन् ।
भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा दिल्ली पुगेका लामिछानेले त्यहाँका उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ । पछिल्लो राजनीतिक घटनाक्रम र छिमेकीसँगको सम्बन्ध चिसिएको बेला उनको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।



















