मन्त्रिपरिषद् पुनर्गठन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २१, बिहीबार ०६:४१

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै चार पुराना मन्त्री हटाएर पाँच जना नयाँ मन्त्री नियुक्त गरेका छन् । नेकपा (एमाले)बाट चार र जनता समाजवादी पार्टी (जसपा)बाट एक जना मन्त्री सरकारमा थपिएका हुन् ।

नयाँ नियुक्तिमा एमालेका तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास तथा डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हाल्ने जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरूको शपथ सोमबारलाई तय गरिएको छ ।

Advertisement

चौधरी, घिमिरे र भुसाल पहिलो पटक मन्त्री बनेका हुन् भने खत्री र अहिर यसअघि पनि मन्त्री भइसकेका थिए । आन्तरिक मामिला तथा कानुन मन्त्रालय यसअघि जसपाकै आदेशकुमार अग्रवालले सम्हालिरहेका थिए ।

बुधबार एमालेका भूमिश्वर ढकाल, खेम सारु, दिनेश पन्थी र सीता शर्माले राजीनामा दिएपछि मन्त्रिमण्डल पुनर्गठन गरिएको हो । प्रदेश सरकारभित्र लामो समयदेखि मन्त्री हेरफेरको चर्चा चलिरहेको थियो । कांग्रेससँग सरकारको नेतृत्व परिवर्तनबारे सहमति जुट्न नसकिरहेका बेला एमालेभित्रै मन्त्री बन्न इच्छुक सांसदहरूको दबाब बढेको थियो ।

स्रोतका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि पुराना मन्त्रीलाई हटाएर नयाँ अनुहार सरकारमा ल्याइएको हो । लुम्बिनी प्रदेश सरकारले साउन १ गतेदेखि मन्त्रालय संख्या घटाएर ८ मा सीमित गर्ने तयारी पनि अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.