दिल्ली–काठमाडौं आवतजावत : रवि आउँदै, शिशिर जाँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २२, शुक्रबार ०७:३४

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमण सकेर स्वदेश फर्किने तयारीमा रहेका बेला परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल जेठ २२ शुक्रबारदेखि २४ गते आइतबारसम्म नयाँदिल्लीमा रहनेछन् । भ्रमणका क्रममा नेपाल–भारतबीचको व्यापार, ऊर्जा, कनेक्टिभिटी र जनस्तरको सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ । यसलाई दुई देशबीच नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको निरन्तरता भनिएको छ ।

Advertisement

यता पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह लगायत भारतीय जनता पार्टीका नेतासँग भेटवार्ता गरेका छन् । प्रवासी नेपाली समुदायलाई सम्बोधन गर्दै भारतसँग नयाँ ढंगले सहकार्य गर्न चाहेको बताएका लामिछाने शुक्रबार भ्रमण सकेर स्व्देश फर्किदैछन् ।

लामिछानेले आफ्नो पार्टी सत्ता भागबन्डाका लागि नभई देशको अवस्था परिवर्तन गर्न सरकारमा गएको दाबी गरेका छन् । सरकारले गलत काम गरे खबरदारी गर्न पनि उनले आग्रह गरेका छन् ।

भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भएको भ्रमणमा लामिछानेसँग उनकी पत्नी निकिता पौडेल, रास्वपाका नेता विपिनकुमार आचार्य, दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.