संकट गहिरिँदै गइरहेका बेला ६४ करोड डलर सहयोगको अपिल

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २३, शनिबार ०६:४३

एजेन्सी । इजरायल र इरान समर्थित हेजबुल्लाहबीच जारी द्वन्द्वका कारण गम्भीर मानवीय संकट सामना गरिरहेको लेबनानका लागि संयुक्त राष्ट्रसंघले आगामी छ महिनाका लागि करिब ६४ करोड अमेरिकी डलर बराबरको मानवीय सहायता आवश्यक पर्ने जनाएको छ । यसअघि गरिएको सहायता अपिलभन्दा यो रकम दोब्बर बढी हो ।

राष्ट्रसंघले शुक्रबार सार्वजनिक गरेको अद्यावधिक विवरणमा लेबनानमा अवस्था लगातार बिग्रँदै गएको उल्लेख गर्दै देशको करिब एक चौथाइ जनसंख्या अहिले प्रत्यक्ष मानवीय सहयोगको आवश्यकता पर्ने अवस्थामा पुगेको उल्लेख गरेको छ । लेबनानका लागि संयुक्त राष्ट्रसंघीय आवासीय तथा मानवीय समन्वयक इमरान रिजाले बेरुतमा पत्रकारसँग कुरा गर्दै युद्धको विस्तारले सर्वसाधारणको जीवन अत्यन्त कठिन बनेको बताए ।

Advertisement

उनका अनुसार इजरायली आक्रमणका कारण हजारौँ नागरिक प्रभावित भएका छन् भने विस्थापन, त्रास र आधारभूत सेवाको अभाव तीव्र रूपमा बढिरहेको छ । रिजाले दिएको जानकारी अनुसार मार्च २ पछि सुरु भएको युद्धका क्रममा इजरायली आक्रमणमा हालसम्म ३ हजार ५ सय भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १० हजारभन्दा बढी घाइते भएका छन् । लगातारको आक्रमणले हजारौँ परिवार घरबारविहीन बनेका छन् ।

राष्ट्रसंघले युद्धका कारण आवास, स्वास्थ्य, खानेपानी तथा अन्य आधारभूत पूर्वाधारमा ठूलो क्षति पुगेको जनाएको छ । साथै, प्रभावित समुदायमा गम्भीर मानसिक असरसमेत देखिन थालेको उल्लेख गरिएको छ ।

यसअघि राष्ट्रसंघले मार्च महिनामा मे महिनाको अन्त्यसम्मका लागि करिब ३८ करोड डलर सहयोगको अपिल गरेको थियो । तर, अवस्था थप जटिल बन्दै गएपछि अब अगस्ट अन्त्यसम्म थप ३३ करोड १० लाख डलर आवश्यक पर्ने जनाएको छ ।

राष्ट्रसंघका अनुसार पटकपटकको विस्थापन, सुरक्षित बसोबासको अभाव र घर फर्किन नसक्ने अवस्थाले संकट झन् बढाएको छ । प्रभावित नागरिकको दैनिक जीवन झन् कठिन हुँदै गएको तथा राहत सेवामाथि चाप बढ्दै गएको राष्ट्रसंघले उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.