
एजेन्सी । नाइजर र मालीको सीमा क्षेत्रमा पर्ने सहारा मरुभूमिमा भएको एउटा दर्दनाक घटनामा ४९ जना यात्रुको मृत्यु भएको छ । अत्यधिक गर्मी, पानीको चरम अभाव र लामो समयसम्म उद्धार नपुग्दा यात्रुहरूले ज्यान गुमाउनु परेको बीबीसीको रिपोर्टमा उल्लेख गरिएको छ ।
घटनामा दुई जना मात्र जीवित भेटिएका छन् । यात्रुहरू एक ट्रकमा सवार भएर धार्मिक उत्सवमा सहभागी भई फर्किरहेका थिए । मालीको हारुबा सहरबाट निस्किएको ट्रक नाइजर सीमातर्फ करिब ३०० किलोमिटरभन्दा बढी दूरी पार गर्ने क्रममा थियो । मरुभूमिको कठिन बाटोमा यात्रा भइरहेका बेला ट्रक अचानक बीच बाटोमै बिग्रिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रक बिग्रिएपछि यात्रुहरूले त्यहीँ मर्मत गर्ने प्रयास गरेका थिए । तर, मरुभूमिको बीच भागमा आवश्यक प्राविधिक सहयोग, उपकरण र पानीको पहुँच नभएकाले उनीहरूको प्रयास सफल हुन सकेन । केही दिनसम्म त्यही ठाउँमा अलपत्र परेपछि उनीहरूसँग भएको पानी र अत्यावश्यक सामग्रीहरू सकिएको थियो ।
अत्यधिक तापक्रम भएको सहारा मरुभूमिमा पानी बिना बाँच्न सम्भव नभएकाले अवस्था क्रमशः भयावह बन्दै गएको प्रत्यक्षदर्शीको विवरण र उद्धारकर्ताहरूको प्रारम्भिक रिपोर्टले देखाएको छ । लामो समयसम्म सहयोग नपुग्दा अधिकांश यात्रुहरूले तिर्खा र गर्मीका कारण ज्यान गुमाएको अनुमान गरिएको छ ।
पछि उद्धार टोली घटनास्थल पुगेपछि ट्रकको वरपर र तल दर्जनौं शवहरू फेला पारेका थिए । सबै शवहरू एकै ठाउँमा र मरुभूमिको कठोर परिस्थितिमा भेटिनुले घटनाको भयावहता स्पष्ट भएको अधिकारीहरूले बताएका छन् ।
जीवित भेटिएका दुई जना मरुभूमि पार गर्दै नजिकैको असामाका सहरसम्म पुगेर स्थानीय अधिकारीहरूलाई जानकारी गराउन सफल भएका थिए । उनीहरूको सूचनापछि उद्धार टोली घटनास्थल पुगेको हो ।
उद्धार टोलीले शवहरू संकलन गरी सामूहिक चिहानमा गाडेको छ । मरुभूमिको कठिन भू–भाग, उच्च तापक्रम र लामो दूरीका कारण शव व्यवस्थापन पनि चुनौतीपूर्ण बनेको थियो ।
उद्धार टोली घटनास्थलबाट फर्कने क्रममा अर्को छुट्टै जोखिमपूर्ण अवस्था पनि उत्पन्न भयो । उनीहरूले एउटा अर्को भाँचिएको ट्रक फेला पारेका थिए । जसमा ६० भन्दा बढी मानिसहरू सवार थिए । ती यात्रुहरू तीन दिनदेखि ट्रकको ब्याट्री सकिएर मरुभूमिमा अलपत्र परेका थिए । उनीहरू अत्यन्तै कमजोर, थकित र पानीको अभावमा संकटग्रस्त अवस्थामा थिए ।
उद्धारकर्ताहरूले तत्काल ती यात्रुहरूलाई पानी उपलब्ध गराएका थिए । ट्रक मर्मतमा सहयोग गरेका थिए । त्यसपछि उक्त समूह सुरक्षित रूपमा त्यहाँबाट फर्किन सफल भएको बताइएको छ ।
सहारा मरुभूमि हुँदै हुने यस्तो जोखिमपूर्ण यात्रामा बारम्बार मानवीय क्षति भइरहेका छन् । लामो दूरी, कठोर मौसम, कमजोर पूर्वाधार र अनौपचारिक यातायात व्यवस्थाका कारण यस्तो दुर्घटना बारम्बार दोहोरिने गरेको अधिकारीहरूले बताएका छन् ।



















