
एजेन्सी । मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीचको तनाव थप चर्किंदै गएको बेला इरानले अमेरिकामाथि युद्धविराम उल्लंघन गरेको गम्भीर आरोप लगाएको छ ।
इरानले अमेरिकी सैन्य गतिविधिले क्षेत्रीय सुरक्षालाई थप अस्थिर बनाएको भन्दै अब उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवारी अमेरिका स्वयंले लिनुपर्ने चेतावनी दिएको हो । इरानको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै अमेरिकाले सिरिक क्षेत्र तथा केश्म टापुमा रहेका इरानी तटीय राडार र निगरानी केन्द्रहरूमा आक्रमण गरेको दाबी गरेको छ ।
मन्त्रालयका अनुसार उक्त कदम युद्धविराम सम्झौताविपरीत भएको उल्लंघन हो । इरानले अमेरिकाले तनाव कम गर्ने दिशामा अघि बढ्नुको सट्टा सैन्य हस्तक्षेपलाई निरन्तरता दिएको आरोप लगाएको छ ।
मन्त्रालयले अमेरिकी गतिविधिले सम्पूर्ण मध्यपूर्व क्षेत्रलाई थप द्वन्द्व र असुरक्षातर्फ धकेलेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यी आक्रमणपछि उत्पन्न हुने कुनै पनि अवस्था र त्यसका परिणामका लागि अमेरिका पूर्ण रूपमा जिम्मेवार हुनेछ ।’
पछिल्ला दिनहरूमा अमेरिका–इजरायल र इरानबीचको बढ्दो तनावका कारण मध्यपूर्वमा युद्धको जोखिम झन् बढेको छ । कूटनीतिक प्रयासहरू जारी रहे पनि लगातार भइरहेका सैन्य गतिविधिले शान्ति वार्ताको सम्भावनामाथि नै प्रश्न उठाइरहेको छ ।



















