
काठमाडौं । पछिल्लो नौ दिनभित्र देशका विभिन्न जिल्लामा भएका चारवटा विभत्स हत्याका घटनाले नेपाली समाजको बदलिँदो चरित्र, बढ्दो हिंसा र कमजोर सामाजिक सम्बन्धबारे गम्भीर बहस सुरु भएको छ ।
काठमाडौं, भक्तपुर, दैलेख र झापामा भएका घटनामा श्रीमानले श्रीमती, बाबुले छोराको हत्या गरेका छन् भने चिनजानकै व्यक्तिबाट महिलाको ज्यान लिइएको छ । जेठ २२ गते शुक्रबार तारकेश्वरमा ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापाले पत्नी ईश्वरी भुजेलको हत्या गरेका थिए । त्यसअघि जेठ २० मा भक्तपुरको छालिङमा विदुर विश्वकर्माले आफ्नै श्रीमती सलिना तोलाङ्गे विश्वकर्मालाई खुकुरी प्रहार गरी हत्या गरे ।
जेठ १९ मा दैलेखमा ७१ वर्षीय कम्बिराज थापाले आफ्नै छोरा यादव थापालाई खुर्पा प्रहार गरेर मारे भने झापाको दमकमा २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या आरोपमा राकेशकुमार पण्डित पक्राउ परेका छन् । मानवशास्त्री, समाजशास्त्री, मनोविद् र अपराध अनुसन्धानका विज्ञहरूले यी घटनालाई क्षणिक आवेगको परिणाममात्र नभई समाजभित्र बढ्दो असहिष्णुता, दण्डहीनता, प्रविधिको दुरुपयोग र नैतिक शिक्षाको अभावसँग जोडेर हेरेका छन् ।
वरिष्ठ अधिवक्ता तथा प्राध्यापक डा. रञ्जनभक्त प्रधानाङ्गका अनुसार मानिसहरू बाहिर सामान्य देखिए पनि भित्रभित्रै तनाव, कुण्ठा र मानसिक दबाबले ग्रस्त भइरहेका छन् । उनका अनुसार सहनशीलता घट्दै जाँदा अपराधका घटना बढेका हुन् ।
प्रधानाङ्गले वैदेशिक रोजगारी, पारिवारिक विखण्डन, सम्पत्तिको विवाद र सम्बन्धमा आएको अविश्वासले पनि हिंसात्मक प्रवृत्ति बढाएको बताए । उनले विद्यालयदेखि विश्वविद्यालयसम्म नैतिक शिक्षा अनिवार्य बनाउनुपर्ने आवश्यकता औँल्याए ।
मनोविद् सावित्री गौतमका अनुसार समाजमा ‘पावर’ र ‘इगो’ को मानसिकता बढ्दै गएको छ । उनले पुरुषबाट महिलामाथि हुने हिंसाको दर अत्यधिक रहेको उल्लेख गर्दै दण्डहीनताको संस्कृतिले अपराधीलाई थप प्रोत्साहित गरिरहेको बताइन् ।
मानवशास्त्री डा. डम्बर चेम्जोङले पहिलेको सामूहिक र पारिवारिक संरचना कमजोर बन्दै गएको टिप्पणी गरे । उनका अनुसार अहिले व्यक्तिकेन्द्रित सोच हावी हुँदै जाँदा परिवार, समाज र नातागोताको प्रभाव घटेको छ ।
पूर्वएआईजी तथा अपराध अनुसन्धान विज्ञ टेकप्रसाद राईले सामाजिक सञ्जाल र प्रविधिको गलत प्रयोगले मानिसहरूबीचको संवाद नै कमजोर बनाएको बताए । उनका अनुसार एउटै घरभित्र पनि सदस्यहरूबीच अन्तरक्रिया कम हुँदै जाँदा समाज थप जोखिमपूर्ण दिशातर्फ धकेलिएको छ ।



















