
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १७ महिनाको कार्यकालमा ४ हजार ६ सयभन्दा बढी भारतीय नागरिक अमेरिकाबाट डिपोर्ट भएका छन् ।
अमेरिकाले गैरकानुनी आप्रवासन नियन्त्रणलाई कडाइ गर्दै ठूलो संख्यामा भारतीय नागरिकलाई स्वदेश फिर्ता गरेको तथ्य सार्वजनिक भएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका हुन् । उनका अनुसार सन् २०२६ मा हालसम्म १ हजार ७६ जना भारतीय नागरिकलाई अमेरिकाबाट भारत फर्काइएको छ ।
त्यसअघि सन् २०२५ मा मात्रै ३ हजार ५६७ भारतीय नागरिकलाई अमेरिकाले डिपोर्ट गरेको थियो । यसरी ट्रम्प प्रशासनको पछिल्लो १७ महिनाको अवधिमा कुल ४ हजार ६ सयभन्दा बढी भारतीय नागरिक अमेरिकाबाट निष्काशित भएका छन् ।
ट्रम्प प्रशासनले आप्रवासनको मुद्दालाई मुख्य राजनीतिक एजेन्डाका रूपमा अघि बढाउँदै आएको छ । विशेषगरी गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने, भिसाको अवधि सकिएपछि पनि बसिरहने तथा आवश्यक कागजातबिना अमेरिकामा बसोबास गरिरहेका विदेशी नागरिकमाथि अमेरिकाले निगरानी र कारबाही तीव्र बनाएको छ ।
भारतीय विदेश मन्त्रालयले भने विदेशमा गैरकानुनी रूपमा बसिरहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउनु हरेक देशको दायित्व भएको जनाएको छ । मन्त्रालयका अनुसार कुनै पनि व्यक्तिलाई फिर्ता गर्ने प्रक्रिया सम्बन्धित व्यक्तिको राष्ट्रियता प्रमाणीकरण भएपछि मात्र लागू गरिन्छ ।
भारतले अमेरिकाबाट पठाइएका व्यक्तिहरूको विवरण आफ्ना निकायमार्फत सूक्ष्म अध्ययन, छानबिन र प्रमाणीकरण गर्ने गरेको पनि जनाएको छ । भारतीय नागरिक भएको पुष्टि भएपछि मात्रै उनीहरूलाई स्वीकार गर्ने नीति अपनाइएको मन्त्रालयको भनाइ छ । भारतले गैरकानुनी आप्रवासन नियन्त्रण र नागरिक फिर्ता प्रक्रिया अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै भइरहेको दाबी समेत गरेको छ ।



















