लेबनानमा इजरायली हमला, सैन्य अधिकारीसहित १२ जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २४, आइतबार ०७:४३

एजेन्सी । दक्षिण लेबनानमा इजरायलले गरेको आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ । युद्धविरामको सहमति भएको केही दिनमै भएको यस घटनाले क्षेत्रीय तनाव फेरि चर्किएको छ ।

लेबनानी सेनाका अनुसार नबातिएहतर्फको खर्दाली सडकमा गुडिरहेको सैन्य गाडीलाई लक्षित गरेर आक्रमण गरिएको थियो । घटनामा ब्रिगेडियर जनरल वसम साब्रा, क्याप्टेन एली खोरी र सैनिक हुसेन गोजाल मारिएका छन् ।

Advertisement

इजरायली सेनाले भने आक्रमण सक्रिय युद्ध क्षेत्रमा भएको दाबी गर्दै उक्त क्षेत्रमा आवतजावतका लागि पूर्वसमन्वय आवश्यक पर्ने जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको पनि उसले बताएको छ ।

लेबनानी सेनाले आक्रमणलाई शान्ति प्रयास विफल पार्ने नियोजित कदम भनेको छ । राष्ट्रपति जोसेफ आउनले यसलाई सार्वभौमसत्तामाथिको गम्भीर उल्लंघन बताएका छन् भने प्रधानमन्त्री नवाफ सलामले जघन्य अपराधको संज्ञा दिएका छन् ।

यसैबीच, लेबनानी सेना प्रमुख जनरल रुडोल्फ हेकल पाकिस्तान भ्रमणमा गएका छन् । उनले फिल्ड मार्शल असिम मुनिरसँग क्षेत्रीय सुरक्षा अवस्था र युद्ध अन्त्यका सम्भावित प्रयासका बारेमा छलफल गर्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.