
काठमाडौं । संघीय संसदको दोस्रो अधिवेशनअन्तर्गत सोमबार बस्ने प्रतिनिधिसभाको बैठकअघि सभामुख डोलप्रसाद अर्याल (डीपी)ले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।
नयाँ कार्यसञ्चालन नियमावली लागू भएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः निष्क्रिय बनेको र नयाँ समिति गठन हुन नसकेको अवस्थाबीच सभामुखले सदनको कार्यसूची र सञ्चालनका बारेमा सहमति खोज्न बैठक बोलाएका हुन् । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रमुख सचेतकहरूको बैठक बिहान साढे ९ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्नेछ ।
पछिल्लो समय विपक्षी दलहरूको निरन्तर अवरोधका कारण प्रतिनिधिसभाको नियमित कार्य प्रभावित भइरहेका बेला सभामुखले दलहरूबीच संवादमार्फत निकास खोज्ने प्रयास गरेका हुन् । यसअघि प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार संसद सञ्चालन हुँदै आएको थियो ।
तर, जेठ १७ गते विपक्षी दलहरूको विरोधका बीच प्रतिनिधिसभा नियमावली, २०८३ पारित भएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको थियो । नयाँ समिति गठनका लागि आवश्यक सहमति हुन नसक्दा सदन सञ्चालनसम्बन्धी विषयमा जटिलता देखिएको छ ।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपालले पनि भारतको भूमि मिचेको भनेर अभिव्यक्ति दिएको भन्दै उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले सदनमा आएर माफी माग्नुपर्ने माग राख्दै लगातार संसद अवरोध गरिरहेका छन् । यही कारण पछिल्ला बैठकहरू सहज रूपमा अघि बढ्न सकेका छैनन् ।
यता प्रतिनिधिसभाको १८ औँ बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकको सम्भावित कार्यसूचीअनुसार आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमाथि सामान्य छलफल प्रारम्भ हुनेछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३–०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि बजेटमाथि सांसदहरूले धारणा राख्नेछन् भने छलफलमा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यसूची तय गरिएको छ । बैठकमा व्यवस्थापन कार्य अन्तर्गत सरकारले विभिन्न विधेयक पनि प्रस्तुत गर्ने तयारी गरेको छ ।
अर्थमन्त्री वाग्लेले ‘विनियोजन विधेयक, २०८३’ संसदमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नेछन् । त्यस्तै ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ पनि सदनमा प्रस्तुत गर्ने कार्यसूचीमा समावेश छन् ।
यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । सन्धिसम्बन्धी कार्य अन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्धित दुई महासन्धि सदनमा प्रस्तुत गर्नेछन् । तीमध्ये ‘श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ नं. ८१’ तथा ‘बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९’ रहेका छन् ।
राजनीतिक विवाद, विपक्षी अवरोध र नयाँ नियमावली कार्यान्वयनको संक्रमणकालीन अवस्थाबीच बस्न लागेको सोमबारको प्रतिनिधिसभा बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । संसद नियमित कार्यसूचीमा प्रवेश गर्न सक्ने वा फेरि अवरोध दोहोरिने भन्ने चासो पनि उत्तिकै बढेको छ ।


























