परराष्ट्रमन्त्री खनाल : भारतबाट फर्किए, अब चीन जाँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २५, सोमबार ०७:४७

काठमाडौं । भारतको औपचारिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनाल अब उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल आगामी जेठ ३१ गते चीन प्रस्थान गर्ने कार्यतालिका तय भएको छ । चीन भ्रमणका क्रममा मन्त्री खनालले जुन १५ र १६ तारिखमा बेइजिङमा उच्चस्तरीय औपचारिक भेटवार्ता गर्ने बताइएको छ ।

Advertisement

भ्रमणका क्रममा उनले चिनियाँ विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ हाइसिङसँग द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा समसामयिक क्षेत्रीय विषयहरूमा विस्तृत छलफल गर्ने कार्यक्रम रहेको छ । नेपाल–चीन सम्बन्धका विभिन्न पक्ष, आर्थिक तथा विकास सहकार्य, पूर्वाधार विस्तार, व्यापारिक सम्बन्ध र कूटनीतिक सहकार्यका विषयमा पनि वार्ता केन्द्रित हुने बताइएको छ ।

चीन बसाइका क्रममा मन्त्री खनालले त्यहाँ रहेका नेपाली समुदाय तथा डायस्पोराका प्रतिनिधिहरूसँग समेत भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । उच्चस्तरीय राजनीतिक भेटवार्ता तथा अन्य औपचारिक कार्यक्रम सम्पन्न गरी परराष्ट्रमन्त्री खनाल जुन १७ तारिखमा स्वदेश फर्किने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.