
संखुवासभा । जबरजस्ती करणी (बलात्कार)बाट पीडित भएकी १० वर्षीया बालिकालाई कानुनी उपचारमा जान र स्वास्थ्य उपचारका लागि मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आर्थिक सहयोग गरेको छ ।
इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले इन्सेकका संखुवासभा प्रतिनिधि भविन कार्कीमार्फत पीडितलाई न्यायिक प्रक्रियामा जान र पीडितको स्वास्थ्य उपचारका लागि ५ हजार रूपैयाँ आर्थिक सहयोग गरेको हो । घटनापछि पीडित बालिकालाई सुरक्षित आवासगृह तथा पुनः स्थापना केन्द्रमा राखिएको र आवास गृहकी व्यवस्थापक पीडित बालिकाको उपचार तथा कानुनी प्रक्रियाका लागि आर्थिक सहयोग गरिएको कार्कीले बताए ।
पीडित बालिकाको परिवारको आर्थिक अवस्था कमजोर भएको र कानुनी प्रक्रियाका लागि इन्सेकलाई निवेदन दिएपछि इन्सेकले आर्थिक सहयोग प्रदान गरेको सुरक्षित आवासगृह तथा पुनः स्थापना केन्दकी व्यवस्थापक तुलसी घिमिरेले बताइन् । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धनबहादुर राजवंशीको उपस्थितीमा इन्सेकले पीडित बालिकालाई सहयोग प्रदान गरेको हो ।
पीडित बालिकालाई जिल्ला अस्पताल खाँदबारी संखुवासभामा उपचार पश्चात अहिले सुरक्षित आवासगृह तथा पुनःस्थापना केन्द्रमा राखिएको छ । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका–३ का ३० वर्षीय अरुण राईलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।



















