
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन् । मोरङको विराट चोकमा जारी पहिलो प्रदेश अधिवेशनबाट उनी प्रदेशसभापतिमा निर्वाचित भएका हुन् ।
२८० मतसहित निर्वाचित भएका राई मोरङका हुन् । प्रदेश सभापतिको उम्मेदवार गोमा तामाङ सरिनले १४१ मत प्राप्त गरिन् । सभापतिका उम्मेदवार चन्द्रकुमार गौली निरजले २७ र डाक्टर खगेन्द्र कटुवालले ४१ मत प्राप्त गरेका छन् ।
प्रदेश अधिवेशनमा राईको पक्षमा केन्द्रीय तहका नेता र सांसदले प्यानल बनाएर लिष्ट बाडिएको थियो । लिष्ट बाडिएको विरोधमा मतदान स्थलमा सभापतिको उम्मेदवार तामाङले विरोध जनाएकी थिइन् । प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट पराजित तामाङ रास्वपाको प्रदेशको कार्यवहाक सभापति थिइन् । चुनावपछि उनले राजनीतिक बिट मारेको घोषणा गरेकी छन् ।

























