
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा दिएको अभिव्यक्तिले संसदको गरिमा र सांसदहरूको भूमिकामाथि प्रश्न उठाएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पुनले विपक्षी सांसदहरूले अर्थमन्त्रीलाई शंकाको सुविधा दिँदै विभिन्न विषयमा जिज्ञासा र प्रश्न उठाएको भए पनि त्यसको जवाफ दिने क्रममा धम्कीपूर्ण हिसाबले अर्थमन्त्री असहज शैलीमा प्रस्तुत भएको आरोप लगाए । उनले आर्थिक विधेयकमाथिको छलफलका क्रममा सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्रीले दिएको जवाफप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै आपत्ति जनाए ।
सांसदहरूले उठाएका सबै विषयलाई आरोपका रूपमा नभई जिज्ञासा, स्पष्टीकरण र उत्तर खोज्ने प्रयासका रूपमा बुझिनुपर्ने उनको भनाइ थियो । तर, अर्थमन्त्रीले त्यसलाई सकारात्मक रूपमा ग्रहण नगरी समितिको महत्व नै घटाउने किसिमले प्रतिक्रिया दिएको पुनले बताए ।
कार्यपालिकाका प्रतिनिधिहरू संसदप्रति जवाफदेही हुनुपर्ने उनको भनाइ छ । सांसदहरूले उठाएका प्रश्न र चासोका विषयबाट कोही पनि पन्छिन नमिल्ने उल्लेख गर्दै उनले तथ्यका आधारमा उठाइएका विषयमा स्पष्ट जवाफ दिन सरकार बाध्य रहेको बताए ।
पुनले अर्थमन्त्री वाग्लेले केही करका दरहरू परिवर्तन गरेको स्वीकार गरेको दाबी गर्दै त्यस विषयमा थप स्पष्टता आवश्यक रहेको बताए । सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री ‘मैले गरेकै हो, के गर्न सक्नुहुन्छ ?’ भन्ने शैलीमा प्रस्तुत भएको आरोप पनि उनले लगाए ।
प्रधानमन्त्रीको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्तिको चर्चा भइरहेका बेला संसदमा अर्को संवेदनशील विषय प्रवेश गरेको उल्लेख गर्दै पुनले संसद र संसदीय समितिहरूको मर्यादा जोगाउन सरकार जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे ।

























