अर्थमन्त्री वाग्लेको पक्षमा रास्वपाको अडान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २९, शुक्रबार १३:०३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवादमा मुछिएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको बचाउ गरेको छ । वाग्लेको पक्षमा रास्वपाले स्पष्ट अडान लिएको हो ।

रास्वपा सांसद खगेन्द्र सुनारले अर्थमन्त्री डा. वाग्लेविरुद्ध बजेटमा करका दर हेरफेर गरिएको भन्दै उठाइएका आरोपको प्रतिवाद गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुनारले अर्थमन्त्रीले संवैधानिक तथा कानुनी प्रक्रिया पूरा गरेर बजेट प्रस्तुत गरेको दाबी गर्दै अनावश्यक रूपमा विवाद सिर्जना गरिएको बताए ।

Advertisement

उनले राज्य सञ्चालन विधि, अन्तर्राष्ट्रिय मान्यता र स्थापित परम्पराका आधारमा हुने उल्लेख गर्दै अर्थमन्त्रीले पनि सोही अभ्यासअनुसार काम गरेको जिकिर गरे । सुनारले विगतका कमजोरी सुधार गर्ने प्रयासलाई समेत गलत ढंगले व्याख्या गरिएको आरोप लगाए । अर्थमन्त्री वाग्लेमाथि व्यक्तिगत रूपमा लक्षित टिप्पणी र आरोप लगाइएको भन्दै उनले त्यसप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण भएको बताए ।

सदनमा धारणा राख्दै उनले कुनै स्पष्ट विषयमा अनावश्यक छानबिनको माग गर्नु उचित नहुने तर्क गरे । ‘घामजस्तै छर्लङ्ग भएको विषयमा नाक कहाँ पर्छ भनेर छानबिन समिति बनाउन आवश्यक छैन’ भन्दै उनले तथ्य स्पष्ट हुँदा विवादको कृत्रिम वातावरण निर्माण नगर्न आग्रह गरे ।

हाल बजेट निर्माणको क्रममा करका दर परिवर्तन गरिएको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले प्रश्न उठाइरहेका बेला रास्वपाले भने अर्थमन्त्रीको बचाउ गर्दै आरोपहरू तथ्यहीन रहेको दाबी गरेको छ । सुनारको अभिव्यक्तिलाई अर्थमन्त्री वाग्लेमाथि बढ्दो राजनीतिक दबाबका बीच रास्वपाको स्पष्ट समर्थनका रूपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.