
विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको कोशी प्रदेशस्तरीय भेला विराटनगरमा सुरु भएको छ । पार्टीभित्र देखिएको गुटगत विभाजन, क्रियाशील सदस्यता अध्यावधिक प्रक्रिया र आगामी महाधिवेशनको तयारीसँग सम्बन्धित विषयलाई केन्द्रमा राखेर आयोजित भेलामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका नेता तथा अगुवा कार्यकर्ताको सहभागिता रहेको छ ।
भेलामा कांग्रेस नेता डा. शेखर कोइराला, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, सशांक कोइराला लगायतका नेताहरु सहभागी भएका छन् । नेताहरूले पार्टीको वर्तमान अवस्था, संगठन सुदृढीकरण र कार्यकर्ताको भूमिका सम्बन्धी विषयमा धारणा राखिरहेका छन् ।
कार्यक्रमको सुरुवातमै कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै पुराना र निष्ठावान कार्यकर्तालाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाए । उनले सिद्धान्त र संगठनका लागि लामो समयदेखि योगदान दिएका कार्यकर्ताको क्रियाशील सदस्यता खोस्ने वा निष्क्रिय बनाउने प्रयास स्वीकार्य हुन नसक्ने बताए ।

सम्बोधनका क्रममा कार्कीले नेतृत्वलाई लक्षित गर्दै प्रश्न गरे, ‘सिद्धान्त बोकेका कार्यकर्ताको क्रियाशील सदस्यता खारेज गर्ने आँट निरंकुश राणा र राजाहरूमा समेत थिएन, यस्तो आँट अहिले कहाँबाट आयो ?’ उनले पार्टीभित्र असन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै नेतृत्वले कार्यकर्ताको भावना बुझ्न आवश्यक रहेको बताए ।
कार्कीले पार्टी नेतृत्वले दोहोरो व्यवहार देखाएको आरोपसमेत लगाए । उनले केही दिनअघिको राजनीतिक घटनाक्रमलाई संकेत गर्दै नेतृत्वको व्यवहार र सार्वजनिक अभिव्यक्तिबीच अन्तर देखिएको टिप्पणी गरे । कांग्रेसलाई कमजोर बनाउने उद्देश्य नभई पार्टीलाई थप एकताबद्ध बनाउने लक्ष्यका साथ भेला आयोजना गरिएको उनको भनाइ थियो ।
त्यस्तै, नेतृ एवं पूर्वसांसद सरिता प्रसाईंले पार्टीलाई एकजुट बनाउने अभियानमा अवरोध नगर्न नेतृत्वलाई चेतावनी दिएकी छन् । पार्टीभित्रको आन्तरिक असन्तुष्टि र भेलाहरूलाई नेतृत्वले सकारात्मक रूपमा लिनु पर्नेमा उल्टै चेतावनी दिने र रोक्न खोज्ने प्रवृत्ति देखिएको उनले गुनासो छ ।
प्रसाईंले उपसभापति विश्वप्रकाश शर्मालाई भनिन्, ‘यो सभाले पार्टी फुटाउने होइन, एकजुट बनाउने हो । यस्तो अभियानलाई तपाईंले किन रोक्न खोज्नुभयो ?’ लामो समयदेखि सँगै राजनीति गरेको स्मरण गर्दै उनले नेतृत्वले कार्यकर्ताको भावना बुझ्नुपर्ने बताइन् । ‘हामी पहिलेदेखि सँगै राजनीति गरेको, नेविसंघको जिल्लादेखि केन्द्रसम्म सँगै पाइला चालेका साथी हौँ,’ उनले थपिन्, ‘अहिले तपाईं पार्टीको नेतृत्वमा हुनुहुन्छ । यस्तो बेला पार्टीलाई थप सुदृढ बनाउन लाग्नुपर्नेमा भेलाहरू रोक्न खोज्नु दुःखद् छ ।’

नेतृ प्रसाईंले नेपाली कांग्रेस कमजोर हुँदा देश नै दुर्घटनामा पर्ने खतरा औंल्याइन् । मुलुकको वर्तमान राजनीतिक अवस्था, संसदको गतिरोध र संविधानमाथि भइरहेका प्रहारप्रति चिन्ता व्यक्त गर्दै उनले भनिन्, ‘नेपाली कांग्रेस जब–जब फुट्ने स्थितिमा जान्छ, यो मुलुक दुर्घटनातिर जान्छ । अहिले संविधान र व्यवस्था नै रहने कि नरहने भन्ने दुविधा छ । यस्तो बेला देशकै जेठो पार्टी कांग्रेस अन्योलमा बस्नु हुँदैन ।’
आगामी स्थानीय र प्रदेशसभा निर्वाचनको प्रसंग निकाल्दै उनले कार्यकर्तालाई चिढ्याएर निर्वाचन जित्न असम्भव रहेको दाबी गरिन् । ‘यो स्थानीय र प्रदेशको चुनावमा यदि साथीहरूले तपाईंलाई सहयोग गरेनन् भने कांग्रेसले चुनाव जित्छ ?’ उनले नेतृत्वलाई प्रश्न गरिन्, ‘यदि चुनाव जित्न सकिएन भने हाम्रो अवस्था के होला ?’
भेलाका आयोजकमध्ये कोशी प्रदेश कांग्रेस समितिका महामन्त्री भूपेन्द्र राईले कार्यक्रम कुनै व्यक्ति वा समूह विशेषको स्वार्थका लागि नभई पार्टीभित्र एकताको वातावरण निर्माण गर्न आयोजना गरिएको बताए । उनले कांग्रेस अहिले विभिन्न गुट र उपगुटमा विभाजित भएको दाबी गर्दै नेतृत्वले आम कार्यकर्ताको भावना र सुझावलाई पर्याप्त महत्व नदिएको आरोप लगाए ।
उनका अनुसार कोशी प्रदेशका १४ वटै जिल्लाबाट आएका प्रतिनिधि र कार्यकर्ताले संगठनको वर्तमान अवस्था, सदस्यता अध्यावधिक प्रक्रिया, महाधिवेशनको तयारी तथा पार्टीभित्र देखिएका समस्याबारे आफ्नो धारणा राख्नेछन् । भेलालाई सम्बोधन गर्ने नेताहरूले पछिल्लो समय विवादमा रहेको क्रियाशील सदस्यता अध्यावधिक प्रक्रियाबारे समेत धारणा राख्ने बताइएको छ ।
इतर पक्षका नेताहरूले यसअघि नै वर्तमान प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आएका छन् । सदस्यता व्यवस्थापनको नाममा लामो समयदेखि पार्टीमा सक्रिय रहेका कार्यकर्तामाथि अन्याय भइरहेको उनीहरुको आरोप छ । पार्टीको सिद्धान्त र मूल्यभन्दा बाहिर रहेका व्यक्तिहरूलाई प्रवेश गराउने वातावरण बनाइएको उनीहरु बताउँछन् ।
विराटनगरमा सुरु भएको भेला कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन, संगठनात्मक बहस र आगामी महाधिवेशनको राजनीतिक तयारीका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ । भेलालाई नेताहरूले सम्बोधन गर्ने क्रम जारी छ ।

























