
काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पदभार ग्रहण गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनले पदभार सम्हालेका हुन् ।
पदभार ग्रहण लगत्तै सञ्चारकर्मी र विभागका सदस्यहरूलाई सम्बोधन गर्दै आचार्यले सूचना र प्रविधिको वर्तमान युगमा पार्टीको प्रचार शैलीलाई पूर्णतः आधुनिक र डिजिटल मैत्री बनाउने बताए । उनले अब एमालेको प्रचार कार्य परम्परागत सीमाभन्दा माथि उठेर डिजिटल सञ्चारमा केन्द्रित हुने स्पष्ट पारे ।
‘हाम्रो विचार–डिजिटल सञ्चार, अब एमालेको विचार हरेक नागरिकको मोबाइल स्क्रिन र मन–मनमा पुग्नेछ,’ प्रमुख आचार्यले भने, ‘हामी प्रविधिलाई पछ्याउने मात्र होइन, प्रविधिको नेतृत्व गर्ने विभागका रूपमा अघि बढ्ने छौँ ।’
पछिल्लो समय सामाजिक सञ्जाल र अन्य माध्यमबाट पार्टी, नेतृत्व र विचारविरुद्ध फैलाइने भ्रम तथा दुष्प्रचारको डटेर प्रतिवाद गरिने पनि उनले बताए । आचार्यले भने, ‘हामी प्रोपोगान्डा र दुष्प्रचार गर्दैनौँ, तर विरोधीका हरेक भ्रमलाई सत्य र तथ्यको बलले ध्वस्त पार्नेछौँ । सत्यभन्दा शक्तिशाली कुनै प्रचार हुँदैन ।’
आचार्यले पार्टी नेतृत्वले आफूमाथि देखाएको विश्वास र सुम्पेको जिम्मेवारीका लागि आभार व्यक्त गरे । साथै, विभागलाई अहिलेको अवस्थामा पुर्याउन योगदान दिने निवर्तमान नेतृत्व र टोलीप्रति धन्यवाद व्यक्त गर्दै विगतका उपलब्धिलाई थप उचाइमा पुर्याउने उनले बताए ।
यसअघि एमालेको प्रचार विभाग प्रमुखमा राजेन्द्र गौतम रहेका थिए । आचार्यको आगमनसँगै एमालेले आफ्नो प्रचार संयन्त्रलाई थप आक्रामक र प्रविधिमैत्री बनाउने संकेत दिएको छ ।

























