नेपाल फर्किने तयारीमा देउवा दम्पती

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३, बुधबार ०६:५२

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको दायरामा परेका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा साउन अन्तिम साता स्वदेश फर्किने तयारीमा रहेका छन् ।

देउवा दम्पतीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई इमेलमार्फत पत्राचार गर्दै साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी दिएका हुन् । पत्रमा उनीहरूले विदेशमा रहेका कारण तत्काल उपस्थित हुन नसकेको उल्लेख गर्दै नेपाल फर्किएलगत्तै अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Advertisement

उनीहरूले आफूहरू दुई महिनाभित्र नेपाल आएर सम्बन्धित निकायसमक्ष उपस्थित हुने जनाउँदै उपचार तथा अन्य कारणले विदेशमा रहँदा आफूहरू अनुसन्धानबाट भाग्न खोजेको वा देश छाडेर फरार भएको भन्ने आशयका टिप्पणी र भाष्य निर्माण नगर्न आग्रह गरेका छन् । साथै, पक्राउ पुर्जीका आधारमा नेपाल प्रवेश गर्न कठिनाइ हुने अवस्था सिर्जना नगर्न समेत अनुरोध गरेका छन् ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनीहरू स्वदेश फर्किने विषयलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ । देउवा दम्पती गत कात्तिक १० गते सिंगापुर प्रस्थान गरेका थिए ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमै भएको आक्रमणमा घाइते भएपछि उनीहरूले नेपालमा प्रारम्भिक उपचार गराएका थिए । त्यसपछि थप उपचारका लागि सिंगापुर गए ।

सिंगापुर प्रस्थान गर्दा कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो । उपचारका लागि गएका देउवा दम्पती त्यसयता विदेशमै बस्दै आएका छन् ।

हाल अनुसन्धान प्रक्रियासँग सम्बन्धित कानुनी विषय चर्चामा रहेका बेला उनीहरूले साउन २८ गतेभित्र नेपाल फर्किने प्रतिबद्धता जनाएपछि आगामी दिनमा अनुसन्धान प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने विषयलाई विशेष रूपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.